प्रधानमन्त्रीको प्रश्न- 'एमाले र माओवादी केन्द्र मिल्छ भन्ने कुरा ज्योतिषिले किन थाहा पाएनन् ?'

Posted on: 22 Apr, 2019

वैशाख ९, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको बजेटमार्फत बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् ।

सोमबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले केही गरेन भन्नेहरुलाई काम गरेरै जवाफ दिने बताए । उनले आफ्नो नेतृत्वको सरकारले गतवर्ष बृद्धभत्रा बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरे । 


प्रधानमन्त्री ओलीले सानातिना कुरामा आफ्ना पालामा केही कमी कमजोरी भए पनि देश विकासमा सरकार लागेको बताए  । 

कतिपयले नेकपा आजै फुट्यो, भोलि नै फुट्छ भनेर हल्ला फैलाए पनि फुट्ने गरी पार्टी एकता नभएको पनि प्रष्ट पारे । उनले व्यंग्यात्मक शैलीमा भने‘यो महिना टुक्रिन्छ, त्यो महिना टुक्रिन्छ भनेर अहिले त ज्योतिषिले पनि भन्न थालेका छन् । एमाले र माओवादी केन्द्र मिल्छ भनेर ज्योतिषिले किन थाहा पाएनन् । मिल्छ भन्ने कुरा पनि त भन्नुपर्यो नि ज्योतिषिले ।’

प्रधानमन्त्री ओलीले पार्टी एकतामा प्रचण्डकाे भूमिका निकै नै उल्लेख्य रहेकाे बताए । प्रचण्डको 'बाेल्ड'  निर्णयले नै दुई पार्टी एक ठाउँमा आइपुगेकाे बताए ।

त्यस्तै कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर अगाडि हिँडेको देख्दा आफूलाई अचम्म लागेको पनि ओलीले बताए । 'यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक र प्रगतिशील शक्तिसँग एकता गर्नुपर्छ' ओलीले भने  ।

साथै उहाँले देशमा पृथकतावादी आन्दोलन गरेकालाई मूलधारको राजनीतिमा ल्याएको बताउनुभयो । पृथकतावाद समाप्त हुनु देशका लागि खुशीको कुरा भएको बताउनुभयो । केही मान्छे भने पृथकतावादी आन्दोलन सकिएकाले केमा खेल्ने भनेर चिन्ता गरिरहेको आरोप लगाउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!