विप्लवका मकवानपुर इञ्चार्ज धरौटी बुझाएर रिहा भएलगतै अदालत परिसरबाटै पुनः पक्राउमा

Posted on: 29 Apr, 2019

बैशाख १६, मकवानपुर । हेटौंडा –नेक्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको  नेकपा मकवानपुर इञ्चार्ज बीरबहादुर घलान ज्वालाले धरौटी बुझाएर रिहा भएलगतै अदालत परिसरबाटै पुनः पक्राउमा परेको छ ।

गत चैत २८ गते पक्राउ परेका ज्वाला सोमबार जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएर रिहा भएपछि धरौटी र जरिवाना बुझाएर बाहिर निस्कना साथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।ज्वालाले हात हतियार मुद्दाको जरिवानावापत जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ६० हजार रुपैयाँ बुझाएका थिए । त्यस्तै विष्फोटक पदार्थको मुद्दामा जिल्ला अदालत मकवानपुरले तोकेको १८ हजार धरौटी पनि आइतबार बुझाइएको थियो ।उनको तर्फबाट अधिवक्ता केशव गौतमले प्रशासन र अदालतमा रकम बुझाएका थिए । ज्वालालाई अदालतले गत वैशाख २ गते धरौटीमा छाड्न आदेश दिएको थियो । 

तर, ज्वालाले सो समय धरौटी र जरिवाना तिर्न अस्वीकार गरेपछि भीमफेदी जेल चलान गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले ज्वालाले तोकिएको धरौटी र जरिवाना तिरेकाले आज रिहा गरिएको भएपनि पुनः अर्को मुद्धा भएकाले पक्राउ गरिएको बताए । उनलाई नेपाल बन्दको क्रममा मकवानपुरको हेटौंडा–१९, नेवारपानी नजिकै गाडीमा आगजनी गरेको मुद्धा लगाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!