कैँची चलाएर असमान हुने गरी काम गर्दैनौं : मन्त्री पण्डित

Posted on: 08 May, 2019

वैशाख २५, काठमाडौँ । सङघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका राष्ट्रसेवक कर्मचारीको वृत्ति विकासका लागि सम्पूर्ण ढोका खुला गरिने बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती  सेवाको  गठन, सञ्चालन र सेवाको शर्त सम्वन्धमा  व्यवस्था गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा उहाँले समायोजनमा गएका कर्मचारीको सेवा निवृत्तिपछिका सम्पूर्ण जिम्मेवारीको सुनिश्चितता सङ्घीय सरकारले लिने स्पष्ट गर्नुभयो ।  

मन्त्री पण्डितले भन्नुभयो, “समायोजनमा गएका कर्मचारीको खाईपाई आएका सेवा सुविधामा घट्न दिने छैनौं । कैँची चलाएर असमान हुने गरी काम गर्दैनौँ, प्रदेश र स्थानीय तहमा थप वृत्ति विकासको अवसर प्राप्त हुनेछ । समायोजनमा गएकालाई मर्का नपर्ने गरी ऐनमा व्यवस्था गरिन लागिएको छ ।” सङ्घीय निजामती, प्रदेश निजामती र स्थानीय सेवा सम्बन्धमा संविधानले नै फरकफरक व्यवस्था गरेको हुँदा एउटै निजामती ऐन बनाउन मिल्दैन भन्दै उहाँले भन्नुभयो, “फरफफरक सेवामा रहेकालाई फेरी एउटै सेवामा ल्याउने भन्ने हो भने संविधान विपरित हुन्छ ।”

सोही मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले प्रदेश र स्थानीय तहका निजामतीलाई एउटै ऐन मातहत राख्दा सङ्घीयताको मर्म र भावना विपरीत हुने बताउनुभयो । यसैबीच निजामती सेवाका कर्मचारीको परिवार भन्नाले सेवामा रहेका कर्मचारीको पति, पत्नी, आमा, बाबु र छोराछोरी भन्ने प्रावधान ऐनमा राख्ने विषयमा सहमति भएको छ । यसअघि  परिवार भन्ने खण्डमा रही आएको सौतेनी आमा भन्ने प्रावधान हटाउनुपर्छ भन्नेमा बैठकमा सदस्यबीच एउटै मत भएको थियो । उक्त ऐनमाथि ९५ सासदले ८२ वटा संशोधन दर्ता गराउनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!