उपेन्द्र यादवसँगको अन्तर्वार्तालाई लिएर एभिन्युजलाई स्पष्टीकरण सोधियो

Posted on: 14 May, 2019

वैशाख ३१, काठमाडौँ | प्रेस काउन्सिल नेपालले अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेको छ । आइतबार राति समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताको क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त टेलिभिजनसँग स्पष्टीकरण सोधेको हो ।

प्रेस काउन्सिलले एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको छ । 

यसैबीच समाजवादी पार्टी नेपालले सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि गरिएको व्यवहारलाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । उक्त पार्टीले एक विज्ञप्ति जारी गर्दै अन्तर्वार्ताका क्रममा भएको दुःखद घटनालाई लिएर कुनै पनि अवाञ्छित गतिविधि नगर्न र संयमित रहन आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ । 

उक्त पार्टीले अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवको मानमर्दन एवं अपमान हुने गरी पत्रकार आचारसंहिता विपरीत प्रश्न सोधिएको भन्दै सञ्चारकर्मीको अभद्र एवम् पूर्वाग्रही प्रस्तुतिप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!