'आइतबारको बिष्फोटमा मृत्यु हुनेहरु नागरिक होइनन्' - गृहमन्त्री

Posted on: 27 May, 2019

जेठ १३, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले आइतबार बिभिन्न २ स्थानमा बम बिष्फोटका घटनामा मर्नेहरु नागरिक नभएको बताएका छन् । 

तर प्रतिनिधि सभामा सांसदहरु पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, लक्ष्मी परियारसहितका सांसदहरूले बम विस्फोटमा मर्ने र घाइते हुने नेपाली नागरिक नभए कुन देश को हो ? भन्दै प्रश्न गरे । एक सांसदले गृहमन्त्रीको राजिनामा समेत माग गरे ।

सांसदहरुले उठाएको बिषयलाई प्रतिक्रिया दिने क्रममा गृहमन्त्री बादलले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको भन्दै विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए । 

गृहमन्त्रीले भने ‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ,’ गृहमन्त्री थापाले भने, ‘यो समूहलाई मुल धारमा ल्याउन र गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

सोमबार प्रतिनिधि सभामा जानकारी दिँदै मन्त्री थापाले बम विस्फोटमा मृत्यु र घाइते भएका विप्लवका कार्यकर्ता भएको स्पष्ट पारे । 

बैठकमा थापाले चन्दले जनपरिषद गठन गरेको, नेकपा नामक पार्टी गठन गरेको, ४ वटा कम्पनी निर्माण गरेको, संविधानविरूद्ध गैरकानुनी काम गरेको बताए । गृहमन्त्री थापाका अनुसार विप्लव समूहको मुख्य निशानामा यतिबेला उपत्यका क्षेत्र बनाएका छन् । गृहमन्त्री थापाले भने, ‘केही समयदेखि यता विप्लव नेतृत्वको नेकपा संविधान र राज्यव्यवस्था विरुद्ध र शान्ति विरोधी गतिवधि गर्दै आएका छन् । उनले यो गतिविधिको लागि नेकपाको नामको पार्टी गठन गरेका छन् ।’

नेकपाले सशस्त्र र गैरकानूनी गतिविधि सञ्चालन गर्दै आएका बताउँदै थापाले निर्वाचनको बेलादेखि शुरु भएको गतिविधिको निरन्तरता अहिलेसम्म देखिएको बताए । उनले हिजो र आज देशभर आगजानी र विस्फोटका घटनाहरु भएको पनि बताए । आइतबार भएको विस्फोटमा हालसम्म चार जनाको मृत्यु भएको झण्डै आधा दर्जन घाइते भएको पनि गृहमन्त्री थापाले जानकारी दिए । मृत्यु हुने सबै विप्लवको संगठन सँग सम्बध व्यक्ति रहेको र घाइते पनि अधिकांश सोही समूह रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!