श्रृङ्खलावद्ध बम विस्फोटमा मारिने चारै जना विप्लवकै कार्यकर्ता, विप्लबले निकाले बिज्ञप्ति

Posted on: 27 May, 2019

जेठ १३, काठमाडौं । आइतबार काठमाडौंमा भएको श्रृङ्खलावद्ध बम विस्फोटमा मारिने चारै जना नेकपा विप्लव समूहको आफ्नै कार्यकर्ता भएको एक बिज्ञप्ति मार्फत सो पार्टीका महासचिव विप्लवले स्वीकार गरेका छन्  । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको स्वीकार गरेका छन् ।

'केपी सरकारको राज्यआतंक, कमरेड घिमिरे हत्याकाण्ड विरुद्ध आयोजित नेपालबन्द कार्यक्रमलाई साथ् र सहयोग दिने राजनीतिक पार्टी र आम जनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ' जारी बिज्ञप्तिमा भनिएको छ ।

मारिने मध्ये एक जना जनमुक्ति सेनाका कमाण्डरसमेत भएको खुलेको छ । तर, मृतकमध्ये को जनमुक्ति सेनाका कमाण्डर हुन् भन्ने खुलाइएको छैन । विज्ञप्तिमा ‘जेठ १२ गते काठमाडौंमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमाण्डर’ भन्दै क्रमशः महान, दीपेन्द्र, प्रज्वल र निरन्तरले शहादत पाएको लेखिएको छ ।

विप्लव समूहले घटना कसरी भयो भन्ने सत्यतथ्य बाहिर ल्याउने बताएको छ । तर, यसको मुख्य दोषी सरकारको फासीवादी दमन भएको बताएको छ । 

विज्ञप्तिको अन्त्यतिर भनिएको छ 'हाम्रो पार्टी सहिदहरुको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ ।

प्रहरीका अनुसार भने बम बिस्फोट हुँदा सुकेधारामा २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक, ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको मृत्यु भएको छ । घट्टेकुलो बिस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!