गणतन्त्र दिवसको अवसरमा ४३४ कैदीलाई सजाय माफी

Posted on: 29 May, 2019

जेठ १५, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा  चार सय ३४  कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिनुभएको छ । 

माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

असल चालचलन भई कैद सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस 

गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा संस्थागत हुँदै जानु गौरवको विषय होः राष्ट्रपति 

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताउनुभएको छ । 

बाह्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गर्नुभएको छ ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको पनि उहाँले बताउनुभएको छ । 

सबै नेपालीको समृद्धिको अपेक्षा साकार पार्नु सबैको सामूहिक उत्तरदायित्व  भएको बताउँदै उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक सङ्कल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गर्नुभएको छ ।  यस दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका  सबै  नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!