शहीदका नाममा छात्रवृत्ति प्रदान

Posted on: 07 Jun, 2019

जेठ २४ काठमाडौँ (रासस) | नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले देशमा लोकतन्त्रको प्राप्तिपछि पनि जनताले खोजेको उपलब्धि अझै हासिल हुन नसकेको बताउनुभएको छ । 

आज सूर्यविनायकमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको सातौँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल उपलब्धिको सम्भावना नै सम्भावना बोकेको देश भएकाले आशा गर्ने ठाउँ धेरै छ ।”

नेता कार्कीले शहीद जोन्छेको सपना साकार गर्न पार्टी र सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । 

जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले शहीदको सपनालाई कुनै पनि पार्टीले बिर्सन नहुनेमा जोड दिनुभयो । काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले तत्कालीन माओवादीले जोन्छेलाई किन गोली हाने त्यसको जवाफ दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा मेधा माविका कक्षा १० की शिक्षा दुवाललाई नगद रु १० हजार, कक्षा ९ की रेश्मा शिवभक्तिलाई रु नौ हजार तथा कक्षा ८ की सगुन श्रेष्ठ र आदर्श मावि कक्षा ८ की समिर चौधरीलाई जनही रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरियो । 

त्यसैगरी नेपालको आर्थिक समृद्धिमा पर्यटन शीर्षकमा प्रतिष्ठानले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने माउण्ट भ्यू स्कूलका विद्यार्थी अङ्कित सङ्ग्रौलालाई रु १० हजार पुरस्कार शिल्ड र प्रमाणपत्र प्रदान गरियो । 

प्रतियोगितामा दोस्रो हुने मेधा माविकी सुष्मा झालाई रु सात हजार, तेस्रो हुने एभरेष्ट स्कूलकी आर्या प्रसार्इंलाई रु पाँच हजार र सान्त्वना प्राप्त वाल्मीकेश्वर माविकी प्रतिभा तिमिल्सिना र आदर्श माविका एलिना खत्रीलाई जनही रु तीन हजार नगद पुरस्कारसहित पदक, शिल्ड र प्रमाणपत्र प्रदान गरियो । 

शहीद जोन्छेकी पत्नी एवं प्रदेश नं ३ का प्रदेश सदस्य तथा प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!