प्रम ओली पेरिसमा

Posted on: 13 Jun, 2019

जेठ ३०,काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुग्नुभएको छ ।  प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि हुनुहुन्छ ।

पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा उहाँलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, फ्रान्सेली शिष्टाचार अधिकृत फ्राँस्वा जेभियर लेजर तथा पेरिसस्थित नेपाली राजदूतावासका अधिकारीले स्वागत गर्नुभयो । 

प्रधानमन्त्री ओलीले आजै फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासङ्घले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नुभयो । कार्यक्रममा फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधिले भाग लिएका थिए ।  प्रधानमन्त्री ओलीले  फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गर्नुभएको पेरिसस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवै अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध लगानीको अवसरका विषयमा जानकारी दिँदै फ्रान्सेली कम्पनीलाई लगानीका लागि आग्रह गर्नुभयो । बुधबार साँझ प्रधानमन्त्री ओली राजदूत अधिकारीले आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक हुनुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!