गुठी विधेयक फिर्ता नलिए सडकमा आउने कांग्रेसको चेतावनी

Posted on: 17 Jun, 2019

असार २,काठमाडौँ | (रासस)  सांसद दिलेन्द्रप्रसाद बढूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । केही दिन पहिले  उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेस भएको थियो | 

 प्रतिनिधिसभाको आजको बैठकको शुरुवातमा नेपाली काङ्ग्रेसका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसद बढूलाई बोल्न समय उपलब्ध गराउनुभएपछि  उहाँले उक्त विधेयक फिर्ता नलिए सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । 

 सांसद बढूले सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एक कार्यक्रममा उक्त विधेयक फिर्ता नलिने अभिव्यक्ति दिनुभएकामा   सोही विषयलाई लिएर काङ्ग्रेसले  बैठकमा उठेर विरोध जनाएको थियो । 

 मन्त्री बाँस्कोटाले केही समय अघि एक सार्वजनिक समारोहमा  गुठी सामान्ती अवशेषको रूपमा  रहेको धारणा व्यक्त गर्नुभएको भन्दै सांसद बढूले दुई तिहाइको दम्भको उन्मादले वर्तमान सरकार धर्म, परम्परा, संस्कार, सम्पदा, संस्कृति र  मौलिकता मास्न लागिपरेको आरोप लगाउनुभयो ।  सांसद लक्षमणलाल कर्णले लोकसेवा आयोगको  विज्ञापन फिर्ता हुनुपर्ने माग गर्नुभयो । उहाँले मौलिक हकको धारा ४२ विपरीत आयोगले सो विज्ञापन आह्वान गरेको आरोप लगाउनुभयो । 

 आयोगले जेठ १५ गते नौ हजार १६१ जनाका लागि विज्ञापन आह्वान गरेकामा  असार १ गतेसम्म एक लाख ६० हजारको निवेदन दर्ता भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!