मध्यरातमा समातिए विप्लब नेकपाका काठमाडौँ इन्चार्ज तथा गायक 'माइला लामा'

Posted on: 21 Jul, 2019

साउन ५, काठमाडौँ | विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज तथा गायक माइला लामालाई मध्यरातमा प्रहरीले पक्राउगरेको छ । विशेष सुराकीको आधारमा लामालाई काठमाडौंको काँडाघारीबाट प्रहरीले आइतबार मध्यराती १२ बजे पक्राउ गरेको हो । 

प्रहरीले माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ । 

गायक समेत रहेका लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् । विभिन्न समयमा राजधानीको तीन स्थानमा बम विस्फोट हुँदा ६ जनाको ज्यान गएको थियो । 

तस्बिर : माइला लामाको फेसबुकबाट।

विप्लव समूहलाई प्रतिबन्ध लगाउनुअघि गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल टावरलाई लक्षित गरेर भएको बम विस्फोटमा एक सर्वसाधारणको मृत्यु भएको थियो भने अरु २ जना घाइते भएका थिए । त्यस्तै गत जेठ १२ गते राजधानीको अनामनगर घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटमा विप्लब समूहकै ५ जनाको मृत्यु भएको थियो । त्यस लगत्तै लामा फरार भएका थिए । नेपाल प्रहरीले लामाको खोजी तीव्र पारेको थियो ।

लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष समेत हुन् । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि कयन गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए ।

राजधानीको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ निवासी लामा पहिलो संविधानसभा चुनावमा हारेका थिए। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!