मङ्सिरमा उप-निर्वाचन गराउन मिति सिफारिस, मन्त्रिपरिषद्‌ले घोषणा गर्न बाँकी

Posted on: 01 Aug, 2019

साउन १६, काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मसिंर १४ गते शनिबार निर्वाचन गराउन उपयुक्त हुने सिफारिस गरेको छ । राजनीतिक दलहरुसँगको परामर्शपछि आयोगले बिहीबार सरकारलाई आफ्नो परामर्श सहितको उक्त सिफारिस गरेको हो । अब उक्त मितिमा निर्वाचन हुने/नहुने बिषयमा मन्त्रिपरिषद्‌ले निर्णय लिनेछ । 

आयोगले तीनवटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन सुझाव दिएको । प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन् । तीनवतै तहको निर्वाचन २०७४ सालमा भएको थियो ।

स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तथा प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने कानुनी प्रावधान रहेको छ । सरकारले स्थानीय तहको मिति तोकेपछि सोही दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने गरी मिति तोक्ने आयोगको तयारी छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपनिर्वाचन सन्दर्भमा छलफल गरेका थिए। त्यसपछि बिहीबार आयोगमा राजनीतिक दलहरुसँग समेत परामर्श गरी आयोगले मिति सिफारिस गरेको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई वर्ष अगाडिमा मसिंरमै भएको थियो। स्थानीय तह निर्वाचन भने त्यो भन्दा अगाडि वैशाखदेखि असोजसम्म तीन चरणमा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!