बैतडीमा घरबाटै बिप्लवका कार्यकर्ता पक्राउ

Posted on: 05 Aug, 2019

कृष्ण बिष्ट | साउन २०, बैतडी | बैतडीमा बिप्लवका कार्यकर्ता घरबाटै पक्राउ परेका छन । पुर्चौडी नगरपालिका ३ सल्लेबनका ४६ वर्षीय नैन सिंह धामीलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धामी विप्लवका गाउँ कमिटी सदस्य रहेका बताइएको छ । 

उनलाई जिल्ला अदालत बैतडीबाट म्याद थप गरी अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातललीले जानकारी दिनुभयो ।  धामी यसअघि साउन १५ गते पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडमा संलग्न रहेका आशंका गरिएको छ । यसका साथै उनलाई तालाबन्दी र चन्दाअसुलीमा समेत संलग्न रहेको आरोप लागेको छ । 

बैतडी प्रहरीले पछिल्लो समय विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरिरहेको छ । यसअघि असार २३ गते पनि प्रहरीले पाटन नगरपालिका १० हतास घर भइ विप्लवको युवा विद्यार्थी संगठनका केन्द्रिय सदस्य श्यामप्रसाद भट्टलाई पनि पक्राउ गरेको थियो । पक्राउ परेका भट्टलाई राज्यविरुद्धको कसुरमा मुद्धा चलाएर बैतडी जिल्ला अदालतले ४० हजार धरौटी तोकेको  बुझिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!