संसदमा ऊर्जामन्त्री बोल्दाबोल्दै बत्ती निभ्यो !

Posted on: 08 Aug, 2019

साउन २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बिहीबार संसदमा बत्ती निभेको छ । बत्ती निभे पनि उनी बोलिरहे  करिब १५ सेकेन्डपछि बत्ती बालिएको थियो । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो । 

केही दिनअघिको संसद बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा बिजुली अवरुद्ध भएको जानकारी गराउन पटक पटक प्रयास गर्दा पनि मन्त्री पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेवास्ता गरेको आरोप लगाएका छन् ।

सांसद महतको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले जुम्लाको समस्या आफूहरुलाई जानकारी भएको भन्दै त्यसको समाधानका लागि पहल गरिरहेको बताए । उनले जुम्लामा बत्ती बाल्न तत्कालका लागि ३ सय केभीएको डिजेल प्लान्ट पठाउने तयारी भइसकेको बताए ।

जुम्लामा सञ्चालित २ सय ४० किलोवाटको लघु जलविद्युत आयोजना बिग्रिएकाले बत्ती नबलेको हो । मन्त्री पुनले उक्त आयोजना मर्मत सम्भार गर्ने र जुम्लासहित कर्णाली प्रदेशमा केन्द्रीय प्रशारण लाइन पुर्‍याउन काम सुरु भइसकेको पनि जानकारी गराए ।

मन्त्री पुनलाई प्रश्न सोध्दा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भने ‘माननीय ऊर्जामन्त्रीले बोल्दै गर्दा बत्ती निभ्नुले देशको विद्युत आपूर्ति अवस्था के छ भन्ने देखाउँछ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!