स्कुल विभागमा ओली–प्रचण्डको अडान कायमै, सहमति जुटाउन बालुवाटारमा छलफल

Posted on: 14 Aug, 2019

साउन २९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् ।  स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बालुवाटारमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ | स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी कायम रहेपछि अध्यक्षद्वय सहमति जुटाउन छलफलमा जुटेका हुन् । तर, पछिल्लो समय अध्यक्षद्वयबीचमै विवाद भएको छ । 

स्रोतका अनुसार प्रधानमन्त्री ओली स्कुल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने अध्यक्ष प्रचण्ड श्रेष्ठको हकमा सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्न चाहन्छन् । यसबारे अध्यक्षद्वयले मंगलबार सचिवालयका अन्य सदस्यसँग पनि छुट्टाछुट्टै परामर्श गरेका थिए । 

तर, सचिवालयका अन्य सदस्यहरुले स्कुल विभागको विवाद टुंग्याउने जिम्मा अध्यक्षद्वयलाई दिएका छन् । स्कुल विभागमा स्थायी कमिटीका अन्य नेताहरुले पनि दावी गरेका छन् । सचिवालयका एक नेताका अनुसार सचिवालयका नेता भूमिकाबिहीन बनेर स्थायी कमिटीका नेतालाई स्कुल विभागको जिम्मेवारी दिने सम्भावना भने कम छ । 

उनका अनुसार ती नेतालाई स्कुल विभागको उपप्रमुख बनाउनेबारे छलफल भएको छ । अध्यक्षद्वबीचमा स्कुल विभागमा सहमति जुटेमात्रै आज बस्ने सचिवालय बैठकले कार्यविभाजनका सवै काम टुंग्याउने छ । नेकपामा ३३ (नीति प्रतिष्ठान सहित) विभाग छन् । स्कूल विभाग बाहेक अन्य विभागमा भने मोटामोटी सहमति भैसकेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!