उपनिर्वाचनमा भाग लिन नेकपा, समाजवादी पार्टीलगायत फेरि निर्वाचन आयोगमा दर्ता हुनु पर्ने

Posted on: 02 Sep, 2019

भदौ १६, काठमाडौँ | आउने मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन नयाँ बनेका पार्टीहरूले निर्वाचन आयोगमा पुन: दल दर्ता गर्नुपर्ने भएको छ | संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका वा दफा १० बमोजिम एकीकरण गरी नयाँ नाम दर्ता भएकाहरूले आयोगमा पुन: दल दर्ता गर्नुपर्ने भएको हो।

प्रतिनिधिसभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि राजनीतिक दललाई भदौ मसान्तसम्म निवेदन दिन आयोगले आह्वान गरेको हो। २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तह निर्वाचनका लागि दर्ता गरिसकेका राजनीतिक दलहरू पुन: दर्ता गर्न नपर्ने आयोगले जनाएको छ। त्यस निर्वाचनपछि दर्ता भएकाहरूले भने निवेदन दिन पर्ने भएको हो।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, समाजवादी पार्टी नेपाल, विवेकशील पार्टी र साझा विवेकशील पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका राजनीतिक दलहरुले पुन दर्ता गर्न पर्ने भएका हुन्। नेकपाले यसअघि पार्टी एकीकरण गरे पनि छुट्टै नाम तथा चिन्ह प्रयोग गरी निर्वाचनमा भाग लिएको हुँदा अहिले दर्ता गर्न परेको हो। त्यस्तै नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच पार्टी एकीकरण भई समाजवादी पार्टी नाम रहेकोले पुन: दर्ता गराउन परेको हो।

‘दल दर्ताका लागि भदौ मसान्तसम्मको समय दिइएको छ,’ आयोग प्रवक्ता शंकरप्रसाद खरेलले भने। नयाँ चुनाव चिन्ह राख्न चाहने दलहरूले पनि तीन वटा निर्वाचन चिन्ह उल्लेख गरी बुझाउन आह्वान गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!