सांसदको प्रश्न,‘डेंगु नियन्त्रणमा सरकार किन असफल ?’

Posted on: 08 Sep, 2019

भदौ २२, काठमाडौं | आइतबार बसेको प्रतिनिधिसभा वैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले डेंगु रोगको प्रकोप नियन्त्रण गरेर संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सरकारसँग माग गरेकी छन् । सांसद संग्रौलाले सभामुख कृष्णबहादुर महरामार्फत् सरकारसँग डेंगु रोगको प्रकोप नियन्त्रण गरेर संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न माग गरेकी हुन् । 

देशभरी डेंगु रोगको संक्रमणबाट जनता आक्रान्त हुँदा पनि प्रकोपको प्रभावकारी नियन्त्रणमा अग्रसर नदेखिएको भन्दै उनले सरकारको आलोचना गरिन् । “यस्तो भयाभह अवस्थामा डेंगुको संक्रमणले जनता अक्रान्त हुँदा पनि सरकार यसको प्रकोपको प्रभावकारी नियन्त्रणमा जुटेको पाइँदैन, किन ? डेंगुको संक्रमण देशैभरी फैलिरहदा सरकार भने औलो नियन्त्रणको उपाय खोज्न बैठक गर्दैछ,  किन ?,” देशभर डेंगु संक्रमितको तथ्यांङ्क प्रस्तुत गर्दै सांसद संग्रौलाले भनिन्, “आजको आवश्यकता डेंगुको नियन्त्रणका लागि बैठक हुनुपर्ने हो । त्यसैले डेंगुको प्रकोप नियन्त्रण एवं यसबाट संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सभामुख मार्फत सरकारसँग जोडदार माग गर्दछु । 

उनले साउन महिना यता विभिन्न अस्पतालमा भर्ना भएका डेंगु बिरामीको संख्या झण्डै ३५ सय ८० नाघिसकेको र चार जनाको मृत्यु भइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । तराईमा देखिँदै आएको डेंगु रोगको नियन्त्रण सुरुवातबाटै नगरेका कारण पहाडी जिल्लामा समेत फैलिएको संग्रौलाको भनाइ छ |

“सुरुमा तराईमा मात्र देखिने डेंगुको संक्रमण अहिले आएर चितवन, काठमाडौं, कास्की हुँदै देशैभरी संक्रमण बढिरहेको छ । सुरुदेखि नै यसको प्रभावकारी नियन्त्रणमा सरकार लागेको भए देशैभरी यसको प्रभाव भयावह रुपमाफैलने थिएन,” उनले भनिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!