बाँदरले आतंक मच्चायो सरकारले संरक्षण केन्द्र बनाओस्: सांसद अधिकारी

Posted on: 11 Sep, 2019

भदौ २५, काठमाडौँ | सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले गोरखाको फुजेललगायत गाउँमा बाँदर नियन्त्रण गर्न माग गरेका छन् | बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद अधिकारीले बाँदर आतंकले गर्दा मानिस घाइते भएको पनि बताए। 

‘मेरो निर्वाचन क्षेत्र गोरखा १ का विभिन्न गाउँमा बाँदर आतंक छ । फुजेलमा मात्रै ३२ जना घाइते भए । उनीहरूको उपचारमा २० र २५ हजार रूपैंयाँदेखि दुई लाखसम्म लागेको छ,’ उनले भने । सांसद अधिकारीले बाँदर नियन्त्रणका लागि सरकारले संरक्षण केन्द्र बनाउनुपर्ने माग गरेका छन् । ‘बाँदर संरक्षण केन्द्र बनाउनुपर्छ,’ उनले भने, ‘मानिसहरू घाइते भए। बालीनाली र फलफूल सखाप भयो।’

बूढीगण्डकी जलविद्युत प्रभावित क्षेत्र गोरखा आरूघाट, आर्खेत र धादिङतर्फ खहरे बजारको मुआब्जा निर्धारण गरी वितरण छिटो गर्न माग पनि उनले गरे | ‘धेरैपटक मुआब्जाको कुरा उठिसकेको छ तर तोकेर वितरण भने भएको छैन,’ उनले भने, ‘छिटो मुआब्जा वितरण गर्नुपर्‍यो।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!