परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष प्रचण्डको आग्रह

Posted on: 16 Sep, 2019

भदौ ३०, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आग्रह गरेका छन् |

पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा हामी छौँ, एकीकृत पार्टीले पनि त्यही भनेको छ, तर यो काम कम चुनौतीपूर्ण छैन । चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन् । व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ । तर सात दशक लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिन्छ कि भनेर कसैले भ्रम नपाले हुन्छ ।”

जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आम जनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवाररूपमा लाग्नुपर्नेमा उनले जोड दिए | पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने त्यागी र निष्ठावान नेता भएको र उनको त्यो व्यक्तित्वलाई स्मरण गरेर आफूलाई सही मार्गमा अगाडि बढाउनु आजको कार्यभार भएको बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!