विप्लवका सहसचिव नेकपामा प्रवेश

Posted on: 20 Sep, 2019

असोज ३, बाजुरा | नेत्रबिक्रम चन्द (विप्लव) समूहका जिल्ला सहसचिव दानबहादुर खड्का (किशोर) आज पत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा प्रवेश गरेका छन् ।

जिल्लाको बूढीगङ्गा नगरपालिका–७ झालबाट विप्लव समूहको सङ्गठन विस्तार र पार्टीको प्रचार गर्दै गरेको गोप्य सूचनाका आधारमा भदौ २७ गते जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेका खड्का आज नेकपा बाजुरामा प्रवेश गरेको पत्रकार सम्मेलनमार्फत प्रेस विज्ञप्ति निकाल्दै नेकपामा गएको उहाँले बताउनुभयो । 

नेत्रविक्रम चन्द (विप्लव) समूहको स्पष्ट कार्यदिशा, राजनीतिक, वैचारिक धरातल नभएका कारण उक्त पाटी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेको विप्लव समूहका जिल्ला सहसचिव खड्काले प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।  

उहाँले आज जारी गरेको विज्ञप्ति र पत्रकार सम्मेलनमा आम नेपाली जनताको जीवनमा आर्थिक समृद्धि ल्याउन समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात् गर्दै आगामी दिनमा नेकपामा निरन्तर रुपमा लाग्ने विज्ञप्तिमा लेखिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाजुराले आज सदरमुकाम मार्तडीको पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा खड्का नेकपामा प्रवेश गरेको नेकपा बाजुराले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेपछि मुद्दा खेपिरहेका खड्का एकाएक नेकपामा प्रवेश गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले नेत्रविक्रम चन्द(विप्लव) समूह परित्याग गरी अन्य पाटीमा प्रवेश गरेपछि विप्लव समूहमा नरहेको क्षेत्र र केन्द्रमा जानकारी पठाउने बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!