संयुक्त राष्ट्रसंघका अधिकारीले गरे नेपालको प्रशंसा

Posted on: 24 Sep, 2019

असोज ७, काठमाडौं | संयुक्त राष्ट्रसंघीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसंघका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी हुने सिलसिलामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव अतुल खरेले नेपाली शान्ति सेनाको बहादुरी, व्यावसायिकता र इमान्दारीको प्रशंसा गरेका हुन् ।

नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यलाई अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री ज्ञवालीले त्यस कार्यमा सदैव आफ्नो क्षमताअनुसारको सहयोग नेपालबाट निरन्तर प्राप्त हुने प्रतिबद्धता जनाए ।

‘नेपालको परराष्ट्र नीतिको अभिन्न अंगको रुपमा संयुक्त राष्ट्रसंघका लक्ष्य तथा उद्देश्यलाई लिइएको छ, शान्ति स्थापनाका कार्यलाई उच्च प्राथमिकता दिइएको छ,’ मन्त्री ज्ञवालीले भने । मन्त्री ज्ञवालीले नेपालको योगदान र सहभागिताका आधारमा कार्यक्षेत्र र प्रधान कार्यालयमा उच्च तहमा नेपालको उपस्थिति अपरिहार्य भएको बताए । संयुक्त राष्ट्रसंघले नेपाली शान्ति सेनाको संख्या बढाउन अनुरोध गरेमा त्यसका निम्ति नेपाल सरकार तयार रहेको जानकारी पनि मन्त्री ज्ञवालीले उपमहासचिवद्वयलाई दिएका थिए ।

दुवै भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, नायब स्थायी नेपाली प्रतिनिधि घनश्याम भण्डारी उपस्थित थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!