प्रधानमन्त्रीले डाकेको समीक्षा बैठकमा मन्त्री नै उपस्थित भएनन्

Posted on: 27 Sep, 2019

असोज १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रालयगत समीक्षा बैठक राखे पनि बैठकमा महत्वपूर्ण मन्त्रलायका मन्त्रीहरु नै उपस्थित भएनन् | संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन गएको भनिएका उपप्रधानमन्त्री उपेन्द्र यादव अमेरिकामा छन् | 

त्यस्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। उनी श्रीमती सरस्वती ज्ञवालीका साथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको रिसेप्सनमा समेत सहभागी भए |

राष्ट्रसंघ महासचिवको अध्यक्षतामा हुने जलवायु सम्बन्धी सम्मेलनमा भाग लिन वन मन्त्री शक्ति बस्नेत पनि अमेरिकामै रहेका छन् | मन्त्री बस्नेतसँग उनकी श्रीमती सत्या पहाडी सहभागी छिन् | त्यस्तै उर्जा मन्त्री वर्षमान पुन नलसिंहगाढ जलविद्युत आयोजनाको लगानी जुटाउन जाइकाको निमन्त्रणमा जापान गएको प्रेस संयोजक रोशन खड्काले बताए | त्यस्तै अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको महासभामा भाग लिन मोन्ट्रियल पर्यटन मन्त्री योगेश भट्टराई क्यानडामा छन् |

स्वदेशमै भएका मन्त्रीहरु पनि प्रधानमन्त्रीले डाकेको समीक्षा बैठकमा सहभागी भएनन् | अर्थमन्त्री युवराज खतिवडा तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा सहभागी हुन रुपन्देही पुगेका थिए। खानेपानी मन्त्री बिना मगर निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुगिन् | मन्त्रीहरू समीक्षा बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले सैद्धान्तिक निर्देशन मात्र दिएको बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!