सभामुख महराले राजीनामा दिने सम्भावना, बिहानैदेखि शिर्ष नेताहरुसँगको परामर्शमा व्यस्त

Posted on: 01 Oct, 2019

असोज १४, काठमाडौँ | आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपेका सभामुख कृष्णबहादुर महराले राजिनामा दिने सम्भावना छ । राजीनामाको लागि वा अन्य कारण उनले नेकपाका शीर्ष नेतृत्वसँग छलफल समेत गरेका छन् । 

के कारण उनले शिर्ष नेतालाई भेटे भन्ने बिषयमा एकिन नभए पनि नेताहरुसँग राजिनामा दिनको लागि परामर्श गरेको हुनसक्ने बुझिएको छ । महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेट गरिसकेका छन् । सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शीर्ष नेताहरू भेला भएका छन् । यस आधारमा पनि महराले आजै राजीनामा दिन सक्ने बुझिएको छ । 

नेकपाका अध्यक्ष र प्रधानमन्त्रीले राजिनामा दिन दवाव दिएको बुझिएको छ । महिलाको आरोपपछि अब सभामुख पदमा रहन नैतिक रूपले पनि नमिल्ने  भन्दै नेताहरुले सुझाव दिएका छन् । महराले राजीनामा दिएर सत्य–तथ्य बाहिर ल्याउनको लागि सघाउनु उपयुक्त हुने नेताहरुको सुझाव छ । 

महराले आफूमाथिको आरोप खण्डन गरेका छन् । तर आरोपलाई बोकेर सभामुखको नैतिक जिम्मेवारी नरहन भन्दै नेताहरुले दिएको दवावका बीच महाराले आजै राष्ट्रपति समक्ष राजिनामा दिन सक्ने सम्भावना छ । 

महराको तर्फबाट प्रेस संयोजक डिल्ली मल्लले गरेको खण्डनमा महरा असोज १२ गते आइतबार अपरान्ह २ बजेदेखि बालुवाटार निवासमै रहेको र अन्त कहीँपनि नगएको कुरा उल्लेख गरिएको छ । 

सभामुखज्यूको बारेमा आएका भ्रामक समाचारबारे खण्डन गर्दै सभामुखज्यूको प्रेस सल्लाहकार डील्ली मल्लले जारी गरेको खण्डनमा घटनाको समाचारबारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सभामुखज्यूको प्रेस सल्लाहकार डील्ली मल्लले जारी गरेको खण्डनमा के छ ? 

सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु ।

समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु ।

सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ ।

यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।

मिति, २०७६।०६।१३

डिल्ली मल्ल

सभामुखज्यूको प्रेस सल्लाहकार

यस बिषयमा तपाइको प्रतिक्रिया...!