नेपाली मूलका बर्मेली नागरिकले राष्ट्रपति भण्डारीसँग राखे यस्ता माग

Posted on: 18 Oct, 2019

कात्तिक १, काठमाडौँ | म्यान्मारको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाली मूलका बर्मेली नागरिकहरुले दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न माग गरेका छन् ।

शुक्रवार म्यान्मारको पे-उ-लिन नगरमा नेपालीभाषीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेकी राष्ट्रपति भण्डारीसँग नेपाली मुलका बर्मेली नागरिकहरुले उक्त माग राखेको म्यान्मारस्थित नेपालीभाषी बर्मेली समुदायका नेताहरूले बताएका छन् ।

नेपाल र म्यान्मारबीच सम्पर्क बढाउन सीधा हवाई सेवाको माग राखिएको उनीहरुले जानकारी दिएका छन् । साथै उनीहरुले नेपाल जानको लागि नि:शुल्क प्रवेशाज्ञाको व्यवस्था गरिदिन समेत माग गरेका छन् । उनीहरुको मागमा राष्ट्रपति भण्डारीले मागका लागि पहल गर्ने आश्वासन दिएकि छन् ।

त्यहाँ रेका नेपालीभाषी नागरिकहरूले नेपाल भ्रमण वर्ष सफल पार्न म्यान्मारमा विभिन्न अभियान चलाउने प्रतिबद्धता पनि जनाएका छन् । नेपाली भाषी सङ्घसंस्थाका नेताहरूका अनुसार पछिल्लो जनगणना अनुसार म्यान्मारका विभिन्न क्षेत्रमा करिब दुई लाख नेपालीभाषीको बसोबास रहेको छ। 

Photo Credit: RSS 

यस बिषयमा तपाइको प्रतिक्रिया...!