बैतडीमा नेकपाले उम्मेदवारको नाम टुङ्गो लगायो

Posted on: 26 Oct, 2019

कात्तिक ९, बैतडी | यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उम्मेदवारको टुङ्गो लगाएको छ । 

सम्बन्धित पालिका कमिटीको सिफारिसअनुसार दोगडाकेदार–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ मा धनबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिनुभयो । 

नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा आज बसेको जिल्ला कार्यसमितिको बैठकले दुबै उम्मेदवारको नाम स्वीकृत गरेको हो  । बैठकले केही दिनभित्रै पुर्चौंडी नगरपालिका–४ मा पनि उम्मेदवारको टुङ्गो लगाउने जनाएको छ ।

नेकपाले दुई वटा वडामा उम्मेदवारको टुङ्गो लगाए पनि अन्य दलहरुले भने अहिलेसम्म उम्मेदवारी टुङ्ग्याउन सकेका छैनन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा चहलपहल पनि बढ्दै गएको छ । सुर्नया गाउँपालिका–१, दोगडाकेदार गाउँपालिका–४ र पुर्चौंडी नगरपालिका–४ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!