सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

Posted on: 03 Nov, 2019

कात्तिक १७, काठमाडौं । सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको हो ।

मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णयको जानकारी राष्ट्रपति कार्यालयलाई गराइएको थियो । सो लगत्तै राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यलयले जानकारी दिएको छ ।

प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!