नेकपाले सिफारिस गर्‍यो प्रदेश प्रमुखको नाम (नाम सहित )

Posted on: 04 Nov, 2019

कात्तिक १८, काठमाडौं | सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सात प्रदेशमा रिक्त प्रदेश प्रमुखका लागि विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकले सिफारिस गरेका नाममा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), शर्मिला त्रिपाठी (काठमाडौँ), धर्मनाथ यादव (सिरहा), विष्णु प्रसाईं (झापा) र गोविन्द कलौनी (डडेल्धुरा) हुनुहुन्छ । बैठकपछि नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कसलाई कुन प्रदेशमा नियुक्त गर्ने भन्नेबारेमा मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले संविधानबमोजिम ती पद रिक्त भएकाले पार्टीले सिफारिस गरेको बताउनुभयो । महासचिव पौडेलले सरकारले प्रदेश प्रमुखमा आफ्ना प्रतिनिधि पठाउन संविधानकै आधारमा नयाँ निर्णय गर्न लागेको जानकारी दिनुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गर्नुभएको थियो । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ । विसं २०७४ को निर्वाचन सम्पन्न भइसकेपछि अघिल्लो सरकारद्वारा ती प्रदेश प्रमुखको नियुक्ति भएकामा नेकपाले त्यसबेला नै आपत्ति जनाएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!