सरकारले कर्मचारी नपठाउँदा कामकाज प्रभावित

Posted on: 07 Nov, 2019

चिसाङ शेर्पा | कार्तिक २१, खोटाङ | जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ । संघीय सरकारले बेलामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गत साउनदेखि नगरपालिकाको कामकाज अत्याधिक प्रभावित भएको छ ।

त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई काजमा गृह–मन्त्रालय ताने पनि सरकारले हालसम्म अर्को कर्मचारी नपठाएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोबार ठप्प भएको नगरप्रमुख इवन राईले बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दशैंमा कर्मचारीलाई तलव खुवाउन नै समस्या परेको जनाइएको छ ।

स्थानीय सरकार गठन यता हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म शिक्षा शाखाको दशौं तहको उप–सचिव, जनस्वास्थ्य अधिकृत, सिनियर डिभिजन इन्जिनियर, इन्जिनियर, आलेप सहायक, सहायक लगायतका महत्वपूर्ण शाखाका कर्मचारी पठाइएको छैन । नगरपालिकामा हाल १४ जना कर्मचारीको पद रिक्त रहेको छ । दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङको विभिन्न स्थानीय तहहरुमा कर्मचारी पूरा छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!