भारतको सिमा अतिक्रमण बिरुद्ध माओवादी केन्द्रको बिरोध सभा

Posted on: 07 Nov, 2019

कात्तिक २०, काठ्माण्डौ | भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको भूभाग समेत आफ्नो नक्सामा पारेपछि त्यसको बिरोधमा नेकपा माओवादी केन्द्रले आजदेखि बिरोध कार्यक्रम शुरु गरेको छ ।


आज माओवादी केन्द्रले काठमाडौँ र सुदुरपश्चिमको अत्तरियामा बिरोध र्याली गरेको छ । काठमाडौँको गौशालामा माओवादी केन्द्रले आयोजना गरेको बिरोध सभामा नेताहरुले भारतको बिस्तारवाद बिरुद्ध चर्को आलोचना गर्दै सरकारले यस्तो असह्य बलमिचाईको प्रतिकार गर्नुपर्ने जोडदार माग गरेको छ । 


माओवादी केन्द्र पार्टिका नेताहरु नेवा-तामसालिङ्ग (प्रदेश ३ ) का इन्चार्ज राजन तिमल्सिना, अध्यक्ष पासाङ्ग लामा, अखिल ( क्रान्तिकारी ) केन्द्रिय अध्यक्ष आलोक रायमाझी, वाइसियल केन्द्रिय सचिव राज्य खम्बु लगायतले बिरोध सभामा भारतको हेपाइ आफूहरुलाई सह्य नहुने भन्दै धारणा राखेका थिए । 


यस्तै माओवादी केन्द्रले कैलालीमा पनि बिरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अत्तरीयामा पुत्ला दहन गरेका छन् । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिको आयोजना भएको बिरोध कार्यक्रममा पार्टीका नेता, कार्यकर्ताहरुले मोदीको पुत्ला दहन गर्नुका साथै नेपाली भूमि भारतमा देखिने भारत सरकारको नयाँ नक्सा समेत जलाएका हुन् । केन्द्रले नेपाली भूमि तुरुन्त फिर्ता गर्न चेतावनी दिदै भारतले हालै प्रकाशन गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत गाभेको भन्दै भारतीय दादागिरी अत्य गर !, नेपाली जमिन फिर्ता गर ! जस्ता नाराहरु समेत लगाएका थिए ।

भारतले केहि दिन अघि मात्रै सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएसंगै देश-बिदेशबाट भारतको बिरोधमा चर्को आलोचना भईरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!