स्थानीय तहका लागि आज उम्मेदवारी दर्ता

Posted on: 13 Nov, 2019

कार्तिक २७, काठमाडौँ | यहि मंसिर १४ मा हुनलागेको उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ | सम्बन्धित उम्मेदवारले आ-आफ्नो स्थानीय तहअन्तर्गत  निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने  निर्वाचन आयोगले जनाएको छ |

बुधबार बिहान १० बजे देखि  १ बजेसम्म उम्मेदवारी दर्ता गराउन सकिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए | उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनु पर्ने छ | उम्मेदवारको सूची आजै प्रकाशन गरिने छ |

कुनै राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा मनोनयन दर्ता गर्दा सो दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित स्थानीय तह र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ |

३७ जिल्लाका ४३ वडा अध्यक्षको पनि निर्वाचन हुँदैछ। प्रतिनिधी सभा र प्रदेश सभाका चार पदका लागि भने यस अघि नै उम्मेदवारी दर्तालगायत सकिएको छ | चार पदका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!