बालश्रम, बाध्यकारी श्रम तथा मानव बेचविखन अन्त्य गर्न नेपाल पूर्ण प्रतिबद्ध : मन्त्री विष्ट

Posted on: 20 Nov, 2019

मंसिर ४, काठमाडौँ (रासस)।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बालश्रम, बाध्यकारी श्रम तथा मानव बेचविखन अन्त्य गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को आयोजनामा आजदेखि शुरु भएको दिगो विकास लक्ष्य ८.७ सम्बन्धी एशिया क्षेत्रीय सम्मलेनमा उहाँले बाध्यकारी श्रम, मानव बेचविखन तथा बालश्रम मानवताविरुद्धको अपराध र गम्भीर मानव अधिकारको उल्लङ्घन भएको बताउनुभयो । 


मन्त्री विष्टले भन्नुभयो, “हामी जुनसुकै प्रकारका शोषण, सभ्य समाजको कालो धब्बा र सामन्तवादविरुद्ध लड्न साँच्चिकै प्रतिबद्ध छौँ ।” उहाँले सीमान्तकृत व्यक्ति र समुदायमा रहेको भौगोलिक तथा सामाजिक असमानतालाई सम्बोधन गर्न थप काम गर्नु आवश्यक रहेको बताउनुभयो । मन्त्री विष्टले मुलुकको भविष्यका रूपमा रहेका निर्दोष बालबालिकालाई सुरक्षा र संरक्षण प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

बालश्रम तथा बाध्यकारी श्रमको अन्त्य एवं मानव बेचविखन रोकथाम गर्नु निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले यसलाई सम्बोधन गर्न राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापीरूपमा साझेदारी र सहकार्यको आवश्यकता औँल्याउनुभयो । “बालश्रम तथा बाध्यकारी श्रम एवं मानव बेचविखनका चुनौतीसँग जुध्न सरोकारवालाको ज्ञान तथा अनुभव आदानप्रदान, साझा धारणाको विकास, सबै  तहमा रणनीतिक निर्देशन तथा कार्ययोजनाको विकास गर्नु आवश्यक छ”, मन्त्री विष्टले भन्नुभयो ।

नेपालले पछिल्लो एक दशकको बीचमा बाध्यकारी श्रमसम्बन्धी क्षेत्रमा विविध सुधार गरेको जानकारी दिँदै उहाँले ‘हलिया’ र ‘कमैया’लाई पुनःस्थापना गरी त्यस्ता प्रथाको अन्त्य गरिएको बताउनुभयो । “पछिल्लो समय बालश्रम न्यूनीकरण, बाध्यकारी श्रम तथा मानव बेचबिखन रोकथाममा उल्लेखनीय उपलब्धि हासिल भएको छ”, उहाँले भन्नुभयो, “यद्यपि दिगो विकास लक्ष्यले निर्धारण गरेका उपलब्धि समयमै हासिल गर्नु चुनौतिपूर्ण छ ।”

नेपालको संविधानले सबै नागरिकलाई शोषणविरुद्धको हक प्रत्याभूत गरेको बताउँदै उहाँले कुनै पनि नागरिकलाई शोषण हुन दिइँदैन भन्नुभयो । सरकारले श्रम क्षेत्रलाई व्यवस्थित बनाउन विभिन्न ऐन तथा कानून निर्माण गरेको उहाँको भनाइ थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!