निर्वाचन आयोगले गर्यो राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

Posted on: 18 Dec, 2019

पुस २, काठमाडौँ | राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ | पुस १७ गते मतदाता नामावली प्रकाशित हुनेछ भने सोही दिन मतदाता नामावली उपर दावी–विरोधको उजुरी दिने समय तोकिएको छ |

बुधबार सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस १८ गते उजुरी उपर छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने पुस २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ |

सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ |

आयोगका अनुसार मनोनयन भएका उम्मेदवारको नामावली २३ गते बिहान १० देखि दिउँसो १ बजेसम्म प्रकाशित गर्ने कार्यतालिका रहेको छ | २४ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय,२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन,सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने,माघ ९ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदानको कार्यतालिका रहेको छ |

आगामी फागुन २० गते राष्ट्रिय सभामा एकतिहाई सदस्यको पदावधि समाप्त हुँदैछ | रिक्त हुने सिटका लागि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!