श्रम मन्त्रालयका २ सहसचिवको सरुवा

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौं । सरकारले ८ सह-सचिवको सरुवा गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा नारायण रेग्मीलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सरुवा गरिएको छ। 

श्रम मन्त्रालयकै सहसिचव डा. रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सहसचिव शिवराम न्यौपानेलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ । श्रम मन्त्रालय मातहतको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा कार्यरत घिमिरे सरकारले ल्याएको सामाजिक सुरक्षा लागू गराउन क्रियाशील रहँदै आएका थिए । निवर्तमान श्रममन्त्री गोकर्ण विष्टलाई हटाइसकेपछि आएका नयाँ श्रममन्त्री रामेश्वर राय यादव मन्त्रालय माताहतका केहि कर्मचारीको सरुवा गराउन चलखेल शुरु गरेका थिए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई काठमाडौं महानगरपालिकामा सरुवा गरिएको छ। अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागमा रहेकी मनमाया पंगेनीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्र शर्मा र उद्योग मन्त्रालयका रामचन्द्र ढकाललाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ। कृषि मन्त्रालयका रघुराम विष्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!