पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

Posted on: 25 Feb, 2020

फागुन १३, चितवन (रासस) । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको बताउनुभएको छ । भरतपुर अस्पतालमा उहाँलाई आज भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उहाँको जीवनरक्षाका लागि पहल गरी माग सुनुवाइ गर्नुपर्ने बताउनुभयो ।

माडीका  जनताको समस्या र पीडालाई मुखरित गर्ने र त्यसलाई राज्यले सम्बोधन गरोस् भन्ने उद्देश्यले उहाँको अनशन भएको भन्दै उहाँले संसद् पूर्णरुपमा चलेपछि यस विषयमा काँग्रेसले संसद्मा  उठान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जुन खालको कठिन अवस्था छ त्यसबाट उन्मुक्ति पाइयोस् भनेर अनशन बस्नुभएको छ । त्यसमा हाम्रो समर्थन छ ।” 

पौडेल फागुन ७ गतेदेखि माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने माग राखेर आमरण अनशनमा बस्नुभएको छ । उहाँको अवस्था गम्भीर भएपछि सोमबार बिहान भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । पौडेललाई भेट्न नेता खाँण यहाँ आउनुभएको हो । एक फरक प्रसङ्गमा उहाँले सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!