राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति गर्व गर्छु : प्रम ओली

Posted on: 10 Jun, 2020

जेठ २८, काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुअघि प्रतिनिधिसभा बैठकमा उहाँले सभामा देखिएको असाधारण एकताले आजका राष्ट्रियता र कोभिड –१९ वा यसले उत्पन्न गरेका जटिलताको सामना गर्न हौसला प्रदान गरेको बताउनुभयो ।

सरकारले नेपालको नयाँ नक्शानुसार संविधानको अनुसूची सच्याउन प्रतिनिधिसभामा पेश गरेको संविधान संशोधन प्रस्तावप्रति मंगलबारको बैठकमा सबै दलले सहमति जनाएका थिए ।   प्रधानमन्त्री ओलीले भन्नुभयो, “दलीय व्यवस्थामा यस्ता एकता कहिलेकहिले मात्र देख्न पाइन्छ तर हाम्रो संसद् यस्ता मामलामा गम्भीर छ । आवश्यक परेको बेला एकताबद्ध भएर अघि बढ्न सक्छ भन्ने यस घटनाले देखाएको छ । यसका लागि सबै सांसद र सदनलाई धन्यवाद दिँदै आभार प्रकट गर्दछु ।”

उहाँले संसद्भन्दा बाहिर पनि देखिएको एकताका लागि सबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गर्नुभयो । यसमा कसले जस लिने भन्दा पनि यो सबै नेपालीको साझा प्रकटीकरण भएको उल्लेख गर्दै उहाँले यसमा कसैले पनि जस पाउला भनेर र कोही जस लिनबाट छुट्ला भनेर चिन्ता लिनुनपर्ने बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!