काँग्रेसको अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

Posted on: 31 Jul, 2020

साउन १६, काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्प बारेमा नेपाल औषधि थोक व्यवसायी सङ्घसँग छलफल गरेको छ । 

सङ्घको आयोजना एवं व्यवस्थापनमा समितिको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पँहुचका सवालमा भएको बस्तुगत अवस्थाका बारेमा छलफल गरेको हो ।

छलफलमा सहभागीले महामारीका समयमा अत्यावश्यक औषधिको खरिद, व्यवस्थापनमा देखिएको  उदासिनता र अनियमिततातर्फ सबैले खबरदारी गर्नुपर्ने बिषयमा जोड दिनुभएको थियो । 

कार्यक्रममा समिति संयोजक एवं सहमहामन्त्री डा महतले स्वास्थ्य सामग्रीमा भएको अनियमितताको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीको माग गर्नुभयो । उहाँले जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको बताउँदै  सरकारलाई खबरदारी गर्न अपिल गर्नुभयो । 

कार्यक्रममा समितिका सदस्य एनपी साउद, डा प्रभु बुढाथोकी र नेपाल औषधि थोक व्यावसायी सङ्घका पदाधिकारी एवं प्रतिनिधिको सहभागिता थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!