नेपाल महिला संघको पदाधिकारी चयनमा विवाद

Posted on: 07 Sep, 2016

भदौ २२, पर्बत । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ पर्वतको पदाधिकारी चयनको विवाद चुलिएर छताछुल्ल भएको छ । महिला संघको जिल्ला अधिवेशन सम्पन्न भएको हप्तौ वितिसक्दा पनि नयाँ कार्यसमिति गठन हुन सकेको छैन । महाधिवेशन प्रतिनिधि चयनको विषय समेत जटिल बनेको छ ।

केन्द्रिय महाधिवेशन प्रतिनिधिमा गत भाद्र १५ गते महिला संघको क्षेत्रीय अधिवेशन सम्पन्न नहुदै जिल्ला अधिवेशन सम्पन्न हुन लागेको भन्ने महिला सदस्यहरुको आरोप छ । नेपाली कांग्रेसको गाउँ कमिटी सदस्य चयन प्रकृयामै अलोकतान्त्रिक पारा अपनाएको भन्ने कार्यकर्ता माझ चर्चा छ । 

कतिपय कार्यकर्ताले एकलौटी पाराले आफू खुशी जिल्ला नेतृत्वले जिल्ला कार्यसमिति गठन गर्न खोजिएको र सदस्यका आकांक्षीहरुलाई वेवास्ता गरिएको गुनासो गरेका छन् भने भित्रभित्रै जिल्ला समिति पदाधिकारीहरु र केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुको नाम तय भईसकेको तर विवाद चुलिएपछि बाहिर ल्याउन जिल्लाको नेका नेतृत्वले नसकेको भन्ने समेत गाइगुइँ सुनिएको छ । जिल्ला महिला संघको नेतृत्वमा आउन खोज्ने आकांक्षी अनुहारहरुमा जोगमया प्रसाई, ललितकला गुरुङ, लालकुमारी सिके, रेखा गुरुङ, चित्रकला शर्माको चर्चा छ ।

महिला संघको अधिवेशन सम्पन्न नहुदै जिल्ला अधिवेशन गर्ने र निर्वाचन अधिकृतले निर्वाचन सम्वन्धि कुनै सुचना टाँस समेत नगरेको भन्ने समेत आरोप महिला सदस्यहरुले लगाएका छन् । संघको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचन सम्पन्न भई महिला संघको नयाँ कार्यसमिति गठन हुनुपर्नेमा विवाद बढेपछि सो हुन सकेको छैन ।

अधिवेशन भएको हप्तौ वितिसक्दा समेत क्षेत्र नं. १ को अधिवेशन प्रतिनिधि छनौटको निर्वाचन कार्यलाई वेवास्ता गर्नाले कार्यकर्ता माझ विधि र विधान नै नमानिने हो कि भन्ने आशंका पैदा भएको छ ।

यही विवादकै वीच क्षेत्रीय प्रतिनिधि सीतादेवी पौडेल र महासमिति सदस्य क्षेत्र नं. १ मिना केसीले हस्ताक्षर गरी विज्ञप्ति सार्वजनिक गरेका छन् ।   विज्ञप्तिमा कार्यसमिति चयनको निर्वाचन निस्पक्ष र धाँधली रहित ढंगले हुनुपर्ने भन्दै आफूहरुलाई यसमा आशंका रहेको उल्लेख छ । निर्वाचन प्रक्रिया अगाडि नबढाइएकोमा विधि र विधान विपरित एउटै कोठाबाट समिति सदस्य चयन गर्न खोजिएको त हैन भन्ने आशंका व्यक्त गरिएको छ । 

प्रतिनिधि चयनको विवाद सल्टाउन प्रजातान्त्रिक विधि र प्रक्रिया अपनाउन समेत सार्वजनिक अपिल गरिएको छ । महिला संघको यही भाद्र २८,२९ र ३० गते काठमाडौमा हुने केन्द्रिय महाधिवेशनमा जिल्लाबाट क्षेत्र नं.१ र २ गरी १८ जना केन्द्रिय प्रतिनिधि चयन हुनेछन् । 

क्षेत्र नं.२ बाट केन्द्रिय प्रतिनिधिहरु चयन गर्ने कार्य सर्वसम्मत रुपमा सम्पन्न भईसकेको छ । यता क्षेत्र नं.१ बाट महाधिवेशन प्रतिनिधिका लागि १४ जना महिला सदस्यहरु आकांक्षी रहेको पाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!