पर्बतमा पुर्नसंरचनाप्रति बड्यो असन्तुष्टि, शीर्ष दलले ७ को खाका देखाएर ६ को आयोगमा पठाए

Posted on: 25 Sep, 2016

महेन्द्र केसी
पर्वत ।
स्थानीय तहको पुनसंरचनामा असन्तुष्ट बनेका जिल्लाबासी जिल्ला विकास समितिमा डलिकेशन आउन थालेका छन् । आयोगले ६ वटा गाउपालिका वा नगरपालिकाको संरचना बनाउन निर्देशन दिएता पनि राजनीतिक दलहरुले मध्यरातमा ७ वटा गाउँ तथा नगरपालिकाको संरचना तयार पारेपछि असन्तुष्ट बनेका जिल्लाबासी डेलिकेशन आउन थालेका हुन् । आइतबार लुंखु, बालाकोट, भोक्सिङ्ग, पाखापानी, होश्राङ्दी, कुर्घा लगायतका गाविसका बासिन्दाहरु राजनीतिक दलहरुको पुर्नसंरचनामा असन्तुष्टि जनाउँदै डेलिकेशन आएका हुन् । जिल्लाबासीले प्राकृतिक स्रोत र साधनको पहुँचको आधारमा सिमांकनको टुंगो लगाउनुपर्ने ठाउँमा दलहरुले राजनीतिक स्वार्थको आडमा सिमांकन गरेको स्थानीयबासीको गुनासो छ ।
कार्कीनेटा, खौलालाँकुरी, ठूलिपोखरी, आर्थर सहितका गाविसलाई जिल्लाको महत्वपूर्ण प्राकृतिक सम्पदाका रुपमा चिनिने पञ्चासे र डहरे क्षेत्रलाई आधार बनाएर गाउँपालिका बनाउनुपर्ने माग गरेपनि दलहरुले दलिय स्वार्थका आधारमा सिंमाकन गरेको  कार्कीनेटा गाविसका पुर्व गाविस अध्यक्ष बाबुराम शर्माले बताए । सो सँगै कालीगण्डकी नदी र आसपासका क्षेत्रलाई विभिन्न तबरबाट उपयोग गर्दै आएका लुंखु, पाखपानी लगायतका बासिन्दाहरु समेत दलहरुको सहमति प्रति आक्रोशित बनेका छन् । पाङराङलाई फलेबासति समावेश गर्नुको बदला रानीपानी तिर समावेश गरीएको प्रति पाङराङबासी रुष्ट बनेका छन् भने कुर्घालाई टुक्राएको विरोधले थप राजनीतिक दलहरुको स्वार्थलाई सिद्ध गरेको देखिन्छ ।
नागरिकको राय सल्लाह विनानै राजनीतिक दलहरुले मध्यरातमा होटलबाट रक्सीको मातमा तयार पारेको सिमांकन आफुहरुलाई मान्य नहुने जिल्लाबासीको निचोड छ । स्थानीयको आवश्यकता, त्यहाँको भौगोलिक अबस्था र प्राकृतिक सम्पदाको समानताका आधारमा सिंमांकनको टुंगो लगाउनुपर्नेमा उनीहरुको जोड छ ।
राजनीतिक दलहरुमा पटक पटकको छलफलमा सिमांकनको टुंगो लाग्न नसकेपछि तीन शीर्ष दलले सिमांकनको टुंगो लगाएको प्रति अन्य साना दलको आक्रोश छन् ।
राप्रपा नेपाल पर्वतका उपाध्यक्ष प्रकाश पौडेलले तीन शीर्ष दलले मध्यरातमा हचुवाका भरमा सिमांकनको टुंगा लगाउनको परिणाम नागरिकको विरोध भएको बताए । उनले शीर्ष दलहरुले सिमांकनलाई आफ्नो भोटर बैकका आधारमा तयार पारेको समेत आरोप लगाए । पौडेलले जिल्लामा सात वटा गाउँ तथा नगरपालिकाको सिमांकनको बाहिर जति चर्चा र हल्ला गरेता पनि तीन दलले ६ वटा पुर्नसंरचनामा सहमति जनाएको र नागरिकममा भ्रम पैदा गर्नको लागि ७ वटाको प्र्रस्ताब गरिएको नाटक मंचन गरिएको आरोप समेत लगाए ।
नेकपा माओवादी क्रान्तिकारीका संयोजक तेजेन्द्र पौडेलले जनताको विरोध हुदाँहुदै पनि तीन ठूला दलले सहमति र सहकार्यविना एकलौटी तबरबाट सिमांकनको विषय टुंगो लगाएको प्रति आफ्नो पार्टीको आपत्ति रहेको जनाए । उनले अहिलेको जिल्लाको सिमांकन राजनीतिक स्वार्थ र हचुवाको भरमा भएको टिप्पणी गरे ।
राष्ट्रिय जनमोर्चाका बालकृष्ण पौडलले नागरीकको राय सल्लाह विना सिमांकन गर्नुको परिणाम स्वरुप जिल्लाबासी उत्रिएको बताए । उनले मध्यरातमा सहमति र नागरिकको आवश्यकता र रायविना तयार पारिएको सिमांकन कसैलाई पनि मान्य नहुने बताए ।
नेकपा (माओवादी) बिप्लव समुह पर्वतका जनपरिषद् प्रमुख बैकुण्ठ गिरीले सिमांकनको विषय एउटा नाटक भएको टिप्पणी गरेका छन् । उनले जनताको इच्छा आकांक्षा विना तयार पारिएको सिमांनका बारेमा विरोद्ध हुनु स्वभाविक भएको बताए ।
नेपाल परिवार दल पर्वतकी अध्यक्ष समिक्षा शर्माले पर्वत जिल्लाको सिमांकन भौगोलिक आधार र नागरिकको प्राकृतिक स्रोत र साधनमाथिको पहुँचका आधारमा नभई शीर्ष दलको आवश्यकताका आधारमा तयार पारिएको बताईन् । उनले जिल्लाबासीको विरोध आउनु स्वभाविक भएको भन्दै संरचनाप्रति आफ्नो पार्टी पनि सन्तुष्ट नरहेको बताइन् ।
 स्थानीय पुर्नसंरचना सिमांकन आयोजकका संयोजक स्थानीय विकास अधिकारी युवराज पौडेलले स्थानीय पुर्नसंरचनाको प्रतिबेदन आयोगमा पठाइसकेका कारण अब फेरबदल हुन नसक्ने तर्क गरे । उनले आयोगले तोके अनुसारको ६ र स्थानीय दलहरुले तयार पारेको ७ वटा सिमांकनको खाका तयार पारी पठाएको बताए । पौडेलले आयोगबाट फेरबदल भएर आएमात्र अब जिल्लाको पुर्नसंरचनाका विषयमा तलमाथि गर्न सकिने अन्यथा नसकिने बताए । पौडेलले जिल्लाको ६ र ७ वटा सिमांकनको प्रतिबेदन आयोगमा पठाएको खुलासा गरेसँै जिल्लामा अब कति वटा स्थानीय तहको पुर्नसंरचना हुन्छ  भन्नेमा नागरिकविच अन्योलता छाउने देखिन्छ ।
पर्वतका ५५ गाविस मध्ये ८ गाविस मिलेर बनेको कुश्मा नगरपालिकामा खौलालाँकुरी, आर्थर डाँडाखर्क र ठुलिपोखरी गाविसलाई थप गरी कुश्मा नगरपालिका कायम गर्ने प्रस्ताव गरेको छ । त्यस्तै नाग्लिवाङ केन्द्र रहने गरी बाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाइरिङ, बनौ गाविसको एउटा गाउँ पालिका प्रस्ताव गरेको छ भने क्याङ, बाजुङ, देउराली, भुकताङ्ले, देउपुर, तिलाहार, चित्रे, राम्जाठाँटीको अर्को गाउँपालिकाका रुपमा प्रस्ताव गरेको छ । त्यसै गरी कार्किनेटा, थापाठाना, शंकरपोखरी, मुडीकुवा, भंगरा, लिमिठाना, ठानामौला खानीगाउँ र देविस्थान गाविसलाई खानीगाउँ केन्द्र रहने गरी गाउँपालिका प्रस्ताव गरिएको छ । जिल्लाका दक्षिणी गाविस फलामखानी, लुंखु, पाखापानी, बालाकोट, भोकसिङ, होश्राङ्दी र कुर्घा गाविसलाई लुंखुदेउराली केन्द्र रहने गरी गाउँपालिका सिफारिस गरिएको छ भने हुवास गाविस केन्द्र रहने गरी टकलाक, त्रिवेणी, बेहुलीबास, सरौखोला र भोर्ले गाविसलाई पनि गाउँ पालिका सिफारिसका लागि प्रस्ताव गरिएको छ । त्यस्तै रानीपानी गाविस केन्द्र रहने गरी पाङराङ, बाच्छा, बर्राचौर, वहाकी , उराम र शालिग्राम गाविसलाई समेत गाउँ पालिका सिफारिस गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!