फरार अभियुक्तलाई हथकडी लाउँदै प्रहरी

Posted on: 29 Sep, 2016

महेन्द्र केसी , असोज १३ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले यतिबेला जिल्ला अदालतले विभिन्न शीर्षकमा कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई तिब्र पारेको छ ।
 हप्तादिन भित्रमा प्रहरीले एक दर्जन भन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा बुझाएको छ ।

प्रहरीले बुधबार विभिन्न स्थानबाट १० फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । जसमध्ये सार्वजानिक अपराध  अन्तरगत बाजुङ १ का गणेश बहादुर बानियाँ, कुनपा १० का  अभिषेक गुरुङ, तनहुँ सतिसुँवारा ९ का डिप्सन गुरुङ, कुनपा ८ का राहुल खड्का क्षेत्री, तिलाहार ६ का समिर लामिछाने, देउपुर २ का बलबहादुर परियार, कुनपा १० का विवश नेपाली, रहेका छन् । उनीहरुमध्ये बानियाँलाइ ५ हजार र अन्यलाई जनही १ हजार जरिवाना फैसला सुनाइएको थियो ।

  त्यस्तै जुवा मुद्धामा नाङलीवाङ ९ का खड्क बहादुर केसी र बुद्धि थापालाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । प्रहरीले सम्बन्ध विच्छेदको मुद्धामा फरार रहेका कटुवाचौपारी ९ का रामचन्द्र विकलाई समेत पक्राउ गरेको छ । उनलाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसैगरी प्रहरीले  नकवजनी चोरी मुद्धामा लेखफाट २ का टेक बहादुर बि.क लाई पक्राउ गरेको छ । अदालतले विकलाई २८ दिनको कैद सजाय सुनाएको थियो । प्रहरीले योभन्दा अगाडि ८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाई सकेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै जिप्रकाले चलाएको बताएका छन् । उनले अपराध गर्ने कोहि पनि कानून बाहिर नरहने भन्दै फरार अभियुक्तलाई कानूनको दायरामा ल्याइ छाड्ने बताए । विभिन्न मुद्धामा जिल्ला अदालतले फैसला सुनाएका ३ सय भन्दा बढि व्यक्तिहरु अझै पनि फरार रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!