सेरा ज्युलो भाडामा दिने निर्णयको विरोध

Posted on: 07 Nov, 2016

नन्दराम जैशी/कात्तिक २२, जुम्ला । चन्दननाथ भैरबनाथ गुठी ब्यवस्थापन समिति जुम्लाद्धारा गरीएको सेरा ज्युलो भाडामा दिने निर्णयको मन्दिरका पुजारी तथा किसानहरुले विरोध जनाएका छन् । 

परम्परागत रुपमा खेती संचालन गर्दै आएका कृषकले नै सेरा ज्युलो उपयोग गर्न पाउनु पर्ने भन्दै सेरा ज्युलो भाडामा दिने निर्णयको मन्दिरका पुजारी तथा किसानहरुले विरोध जनाएका हुन् । मन्दिरका पुजारी चन्द्र मैलेश्वर, स्थानिय नैनसिंकह कठायत र खेतला कृषक दुधकला कुलाल लगाएतका ब्यक्तिद्धारा हस्ताक्षरीत पत्रमा सेरा ज्युलो भाडामा दिने निर्णयको विरोध जनाइएको छ ।

 साथै समितिले हचुवाका भरमा १० बर्षे सम्झौता गरी सेरा ज्युलो भाडामा दिने निर्णय गरेको उनीहरुको आरोप छ । 

केन्द्रीय समितिमा बुझ्दा १० बर्षे सम्झौताको स्वीकृति नभएको स्थानिय नैनसिंह  कठायतले बताउनुभयो । उनीहरुले ज्युलो भाडामा दिन नपाइने भन्दै परम्परागत खेती संचालनका लागि कुलो संचालन गरी मन्दिरको नाममा धान खेती गर्ने बताएका छन् । खेति संचालन गरी हिउदेबाली लगाउने बिषयमा कात्तिक २४ गते ब्यापक छलफल कार्यक्रमको आयोजना गर्ने नैनसिंह कठायतले बताउनुभयो ।

 छलफलका लागि सेरा ज्युलाको आँखे डाभमा कात्तिक २४ गते सबैलाइ सहभागिताका लागि आग्रह गरीएको छ । सेरा ज्युलो खेतला कृषक दुधकला कुलालले मन्दीर स्थापना कालदेखि आफुहरुले खेति गर्दै आएको भन्दै पुन खेति गर्न पाउनु पर्ने  दावी गर्नुभयो । 

यता चन्दननाथ भैरबनाथ गुठी ब्यवस्थापन समितिका अध्यक्ष गौरीनन्द आचार्यले आरोपर विरोधका लागि मात्र विरोध नगर्न आग्रह गर्नु भएको छ । केन्द्रीय समितिको स्वीकृतिले कृषि प्रयोजनका लागि जग्गा लिजमा दिने सर्बसमितिबाट निर्णय भएको उहाले जानकारी दिनुभयो ।

 उहाले भन्नुभयो, परम्परागत खेतीले कृषि उत्पादन थोरै मात्रामा हुन्थ्यो, मन्दिरका पुजारीलाइ नै खाना पुग्दैनथ्यो । यता जग्गाबाट उत्पादन भएको अन्न नपुगेपछि खाद्यबाट चामल खरीद गर्न बाध्य थियौ । जग्गा लिजमा दिएपछि हाल पहिलेको समस्या हटेको छ, उहाले बताउनुभयो । 

समितिको निर्णय अनुसार सेरा ज्युलोमा रहेको २० हजार बर्ग मिटर जग्गामा प्रति १ बर्ग मिटर जग्गा बराबर १२ रुपैयाका दरले कृषि प्रयोजनका लागि भाडामा दिइने निर्णय भएकाले विरोध भन्दा सो प्रक्रिया पुरा गरेर आएमा उनीहरुले नै जग्गा पाउन सक्ने उहाको भनाइ छ ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!