चार वर्षदेखि विद्यालय भवन नबन्दा, पठनपाठन प्रभावित

Posted on: 14 Nov, 2016

कात्तिक २९, पर्वत । पर्वतको ठूलीपोखरीस्थित जनता सुदर्शन उच्च माविको निर्माणाधीन भवन चार वर्ष अघिदेखि अलपत्र परेको छ । 

निर्माणाधीन भवन अलपत्र पर्दा पठनपाठन समेत प्रभावित भएको छ । भवन अभावमा विद्यार्थी भूकम्पले भत्काएको जोखिमयुक्त बनाएको कक्षाकोठामा बसेर पढ्न बाध्य भएका छन् । 

अझै केही समयमा निर्माण सम्पन्न नभए सबै संरचना भत्काउनुपर्ने अवस्था उत्पन्न हुनसक्ने विद्यालयका प्राचार्य मेघनाथ आचार्यले बताउनुभयो । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्माण सुरु भएकोे छ कोठे पक्की भवन विगत चार वर्ष अघिदेखि अलपत्र बनेको हो । 

तत्कालीन प्रद्यानाध्यापक खेमराज लम्सालको पालामा निर्माण थालिए पनि बजेट अभाव देखाउँदै ठेकेदारले बीचैमा काम रोकेपछि भवन बेवारिसे बन्न पुगेको आचार्यले बताउनुभयो । चार वर्षअघिको पुरानो संरचना समेत अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । भवनको निर्माण सुरु गरिएको समयदेखिको आयव्ययको अभिलेख समेत विद्यालयमा राखिएको छैन । 

यसको रेकर्ड नभेटिएसम्म काम अगाडि बढाउन कठिन भएको विद्यालय प्रशासनको भनाइ छ । उता भवन निर्माण समितिले भने अनुमानित बजेट नभएपछि काम रोकिएको जनाएको छ । 

तत्कालीन अवस्थामा रु एक करोड १८ लाखको लागत स्टिमेट भए पनि रु २७ लाख मात्र आएकाले बजेट बिना काम सञ्चालन गर्न नसकिएको समितिको जिकिर छ । 

भवनका लागि विद्यालयले थप रु पाँच लाख खर्च गरेर ढलानको काम समेत गरेको थियो । जिल्लाका तीन वटै सांसदले भवनको पुनःनिर्माणमा सघाउने बताए पनि हालसम्म सहयोग प्राप्त नहुँदा स्थानीयवासी चिन्तित बनेका छन् । 

विद्यालयकै स्रोत साधनमा केही वर्षदेखि मानविकी र व्यवस्थापन सङ्कायमा स्नातक तहको अध्यापन पनि सञ्चालनमा ल्याइएको छ । त्यसैले, समयमै भवन निर्माण सम्पन्न नहुँदा सबै तहका विद्यार्थीलाई असहज बनाएको विद्यालयको भनाइ रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!