गुप्तेश्वर गुफाका साधुको स्वास्थ्य अबस्था चिन्ताजनक

Posted on: 12 Dec, 2016


मंसिर २७ पर्वत ।धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफामा सेवारत साधुको स्वास्थ्य अवस्था गंम्भीर बन्दै गएको छ । दशकौ वर्ष पहिले देखि गुफामा धूनी जगाएर बस्दै आएका साधु बोलबम गिरी अहिले जिल्ला अस्पताल कुश्मामा उपचारारत     छन् । 

जिल्ला अस्पतालका प्रमुख डा.फणिन्द्र बरालका अनुसार साधुलाई निमोनियाको गंम्भीर असर छ । निमोनियाबाट ग्रसित भएपछि साधुलाई गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको पहलमा जिल्ला अस्पतालमा भर्ना गरिएको हो । करीव दुई हप्ता पहिलेदेखि साधुको उपचार जिल्ला अस्पतालमा       भईरहेको छ । 

अस्पतालका डा.सरोज दाहालको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले साधुको सक्दो उपचारसेवा गरिरहेको अवस्था छ । साधुलाई अस्पतालमा निमोनियाको औषधि दिईनुका साथै अक्सिजन दिई उपचार गरिहेको डा. दाहाल बताउँछन् । पहिले भन्दा शनिवारदेखि साधुको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका प्रमुख डा.बरालको भनाई छ । 

गुफा व्यवस्थापन समितिका सदस्यहरु प्रनिश गिरी, शिव सुवेदी साथै बाबाका भक्तहरु खेम गिरी, राजेन्द्र आचार्यले साधुलाई आईतवार तातोपानीले स्नान गराएका थिए । विरामी भएपछि चिसोका कारण स्नान समेत गर्न नसकेका साधु स्नानपछि धेरै खुशी भएका थिए । दिनहुँ विहान स्नान गर्नुपर्ने साधुले विरामी भएपछि स्नान गर्न नपाउदा दुःखेसो पोखेका थिए । 

गुफा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल श्रेष्ठले आफूहरुले बाबाजीको उपचारका लागि सक्दो पहल गरेको बताउदै उनले भने–‘बाबाको उपचारका लागि अस्पतालका स्वास्थ्यकर्मीको पहल सराहनीय छ । व्यवस्थापन समिति सदस्यहरुले पनि बाबाको सेवाका लागि सक्दो समय मिलाइएको नै छ । आवश्यक औषधि र अन्य आवश्यक सामानको बन्दोबस्ती समितिले गरेको छ ।’ आवश्यक परेमा थप उपचारका लागि पोखरा र काठमाडौ पुराउन व्यवस्थापन समिति पछि नपर्ने अध्यक्ष श्रेष्ठले बताए । उपचारमा सवै कुरा राम्रै भएपनि रातीको समयमा बाबाजीलाई अस्पतालमा सेवा पुराउनैका लागि भनी एक जना व्यक्ति समितिले खटाउन सकेको भए राम्रो हुने गुनासो अस्पताल स्रोतको छ । 

अस्पतालमा विरामी भई उपचार गराई रहेका साधुलाई भेट्ने भक्तजनको भने कमि छैन । विगत लामो समयदेखि गुफामा रहेर निस्वार्थ सेवारत रहेका साधुले जोकोही भक्तजनलाई पनि प्रसादी बाँड्ने र गुफाका बाँदर, परेवा, मुसालाई समेत अन्नप्रसादी बाँड्ने गर्दै आएका छन् । 

आफू भारतको गुजरातमा जन्मेको बताउने बाबालाई सवैले त्यागी र निस्वार्थी साधुको रुपमा चिन्दै र मान्दै आएका छन् । साधुलाई सर्वसाधारणले गुप्तेश्वर गुफाको गहना, आदर्श अनि गौरव ठान्छन् । करीव ९० वर्ष हाराहारी उमेरका साधु गुप्तेश्वर महादेवको सच्चा भक्त हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!