शिवालय बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न

Posted on: 23 Dec, 2016

विशन क्षेत्री/ पर्वत, ८ पौष । शिवालय बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ । स्नातक प्रथम वर्षमा अध्ययनका लागि आएका विद्यार्थीलाई स्नातक द्वितिय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले फुलमाला र कलमद्वारा स्वागत गरेका हुन् ।

विद्यार्थीका बिचमा मित्रता र भाईचारा बढाउन तथा एकअर्काबिच परिचय गरि विद्यार्थीको समस्या समाधानमा सकारात्मक पहल ल्याउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । २०६७ सालदेखि क्याम्पसले स्नातकमा बिबिएस तथा बिएड अध्यापन गराउँदै आईरहेको छ । 

कार्यक्रममा प्रमुख अतिथी क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द गिरी पहाडीले क्याम्पसको कमजोर आर्थिक अवस्था सुधारोन्मुख रहेको बताए । हाल क्याम्पसले आफ्नै नीजि जग्गा खरिदको प्रक्रिया पु¥याएको तथा दानदाताले सहयोग गरेको बताए ।

त्यस्तै क्याम्पस प्रमुख कमलनाथ शर्माले विद्यार्थीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको बताउँदै आगामी दिनमा गुणस्तर सुधारमा ध्यान दिने बताए ।त्यस्तै बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी विशन क्षेत्रीले धनी र गरिबबिचको वर्गीय विभेदका कारण विद्यार्थीले स्वतन्त्ररुपमा अध्ययन गर्न नपाएको बताएका थिए । 

कार्यक्रममा क्याम्पसमा अध्यापन गराउने शिक्षक टंकनाथ शर्मा, पूर्व क्याम्पस प्रशासन प्रमुख ईश्वर गिरी, डिआर शर्मा, र विद्यार्थीको तर्फबाट विद्या लामिछाने, गीता पोखरेल, समिक्षा शर्माले मन्तव्यमार्फत नयाँ विद्यार्थीलाई मन्तव्यद्वारा स्वागत गरेका थिए । 

प्रथम वर्षमा अध्ययनरत तारा शर्मा, कमला शर्मा र मनहरि शर्माले स्वागत गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती समेत गरेका थिए ।

कार्यक्रममा नै क्याम्पसको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने साहित्यकार डिआर शर्मा र क्याम्पसमा अध्यापन गराउने शिक्षक आशिष पौडेललाई सम्मान समेत गरिएको थियो । क्याम्पसको लागि शर्माले १० हजार र पौडेलले १३ हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेका थिए ।

सविता शर्माको स्वागत रहेको कार्यक्रम विशन क्षेत्रीको सभाध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सूर्य सुवेदीले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!