कालीगण्डकीमा भेटिएको शव शिक्षक पौडेलको भएको डिएनए परिक्षणबाट पुष्टि

Posted on: 08 Jul, 2017

पर्वत, २३ असार । दुई साता अघि वेवारिसे रुपमा कालीगण्डकी नदी किनारमा भेटिएको शव बेपत्ता शिक्षक नारायण पौडेलको भएको प्रहरीले पुष्टि गरेको छ । डिएनए परिक्षणबाट समेत उक्त शव बेपत्ता शिक्षककै भएको पुष्टि भएको प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । ‘शवसँग पौडेलको बाबु, आमाको रगत पठाएका थियौ, डिएनए परिक्षणमा मिलेको रिपोर्ट प्राप्त भएको खनालले बताउनुभयो ।
पर्वतका कुश्मा नगरपालिका –९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिका अन्र्तगत वेलवगरमा उनको शव फेला परेको थियो ।
पौडेलकी आमाले घाटीमा लगाएको माला, जनै र दाँतका आधारमा नारायणकै भएको बताउनुभएको भएपनि प्रहरीले थप पुष्टि गर्न भन्दै डिएन ए परिक्षणका लागि काठमाण्डौ पठाएको हो ।
बिद्यालयमा बिद्यार्थीलाई कडा सजाय दिएको गुनासो आएपछि पौडेललाई माफी माग्न आग्रह गरिएको र उक्त दिनपछि नारायण बिद्यालय जान समेत छाड्नुभएको थियो । पौडेल बेपत्ता भएपछि उहाँ बस्ने कोठामा खाना पकाउने तयारी र लुगा धुनका लागि भिजाएको भेटिएको प्रहरीले जनाएको थियो ।
प्रहरीले उक्त शव नारायण पौडेलकै भएको पुष्टि भएपछि आत्महत्या वा हत्या भन्ने बिषयमा अनुसन्धान थालेको जनाएको छ । ‘अब शव पौडेलकै भएको पुष्टि भएको छ’ खनालले भने–‘ज्यान कसरी गएको हो, सुक्ष्म अनुसन्धान थालेका छौ ।’ प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
बिद्यालयका प्रिन्सिपल बिमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई बिहिबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई प्रहरीले शुक्रबार सात दिनको म्याद थपेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!