पर्वतका भूकम्पपीडितले पाएनन् आवास अनुदान

Posted on: 12 Jul, 2017

पर्वत,  असार २८ गते । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पर्वतका भूकम्पपीडितले अझै आवास अनुदान पाउन सकेका छैनन् ।

झण्झटिलोे प्रक्रियाका कारण उनीहरु यो वर्ष पनि आवास अनुदान रकम प्राप्त गर्न नसकेको हो । पर्वतमा पूर्ण क्षति भएका लाभग्राहीको संख्या पाँच हजार ३६९ रहेको छ । जसमध्ये हालसम्म तीन हजार ९०९ जनाको अनुदान सम्झौता भई जिल्ला समन्वय समितिले कोष तथा लेखा नियन्त्रण कार्यालयमा निकासा मागेको भए पनि अहिलेसम्म पीडितले उक्त रकम प्राप्त गर्न सकेका छैनन् ।

केही समय पहिले स्थानीय तहको चुनावले प्रभावित बनेको अनुदान वितरण कार्य पुनः वर्षायाम र प्राधिकरणको झण्झटिलोे प्रक्रियाका कारण ढिलाइ भएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत तुलसीराम शर्माले जानकारी दिनुभयो । कतिपय ठाउँको पूर्ण विवरणसमेत आउन सकेको छैन ।

पुनःनिर्माणका लागि पहिलो किस्ताबापत आवश्यक पर्ने रु २६ करोड रकममध्ये जिल्ला विकास समितिमा रु १९ करोड केही महिनाअघि नै निकासा आएको थियो । तर पनि अहिलेसम्म वितरणमा केही ढिलाइ भएको सूचना अधिकृत तुलसीराम शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिलो किस्ताबापतको भुक्तानीका लागि प्रक्रिया शुरु भएको छ । अब बैंक खातामा रकम जम्मा गर्ने अन्तिम तयारी भएको र पीडितले आ–आफ्नो खाताबाट रकम झिकेर लैजान सक्ने समेत सूचना अधिकृत शर्माले बताउनुभयो ।

भूकम्पबाट जलजला गाउँपालिकामा १८७, कुश्मा नगरपालिकामा ९४३, मोदी गाउँपालिकामा ५०३, फलेवास नगरपालिकामा एक हजार ४५६, विहादी गाउँपालिकामा एक हजार १३७ र महाशिला गाउँपालिकामा ६५७ घर पूर्ण क्षति भएको तथ्याङ्क छ ।

भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि राज्यले दिएको अनुदान रकम नपाउँदा पीडित झन समस्यामा परेका छन् । चैत अन्तिम साता तिलाहारबाट शुरु गरिएको अनुदान सम्झौता सुस्त गतिमा हुँदा पीडितले रकम समयमै पाउन नसकेका हुन् ।

स्थानीय विकास अधिकारी विष्णु भुसालले केही प्राविधिक समस्याले ढिलाइ भएको र अब तत्काल वितरणको काम शुरु हुने जानकारी दिनुभयो

यस बिषयमा तपाइको प्रतिक्रिया...!