पर्वतको खानेपानीमा पनि कोलिफर्मका जिवाणु भेटिए, ५० प्रतिशत खानेपानी प्रदुषित

Posted on: 18 Jul, 2017

३ साउन, पर्वत । पर्वत जिल्लाका विभिन्न ठाउँमा वितरण हुँदै आएको खानेपानीमा कोलिफार्मका जिवाणु भेटिएको छ । जिल्लाको ८ ठाउँमा गरिएको नमुना परिक्षणमा ४ ठाउँको पानीमा जिवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

जिल्लाको भुकताङले, ठूलीपोखरी, देउराली लगायतका मूहान, धारा तथा उपभोक्ताको घरमा गरिएको परिक्षणबाट कोलिफर्मका व्याक्टेरिया भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका ल्याब टेक्निसियन रघुबिर महतोले जानकारी दिनुभयो । भुकको सबै टोलमा वितरित पानी मध्ये ४ ठाउँमा खान योग्य पानी नभएको बताईएको छ । ठूलीपोखरीको १ वटा नमूनामा खान योग्य नभएको पाईएको हो । त्यस्तै कार्कीनेटा र मुडकुवामा गरिएको परिक्षणमा सबै सुरक्षित पाईएको कार्यालयका टेक्निसीयन महतोले बताउनुभयो ।

कोलीफर्मका व्याक्टेरिया मानिस तथा पशुहरुको दिशामा पाईन्छ । यस्तो कोलीफर्म युक्त पानी पिउँदा झाडापखला, आउँ, हैजा, जुका, जण्डीस जस्ता रोगहरु देखिन्छन । यस्ता रोगहरु महामारीका रुपमा फैलिनसक्ने र त्यसले प्रत्यक्ष रुपमा बालबालिका र जेष्ठ नागरिकहरुलाई प्रभाव पार्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा बुद्धी बहादुर थापाले जानकारी दिनुभयो ।

गत वर्ष परिक्षण गरिएका ठाउँहरुमा समेत यस वर्षपनि देखिएको छ । ठूलीपोखरीको झाँक्रीखोलाको मूहानमा गत वर्ष कोलिफार्म भेटिएकोमा यस वर्ष पनि पुनः भेटिएको महतोले जानकारी दिनुभयो । केही नयाँ ठाउँहरुका समेत पानीको नमूना परिक्षणबाट कोलीफर्म भेटिएको डा. थापाले जानकारी दिनुभयो । यसवर्ष पनि नयाँ ठाउँको परिक्षण गर्ने क्रममा भएकाले अझै बढ्नसक्ने देखिएको छ ।

खुल्ला दिशा मुक्त जिल्ला घोषणा भईसकेको पर्वतमा कोलीफर्म भेटिनु गम्भिर भएको र अझैपनि सचेतना गराउन जरुरी भएको डा थापाले जानकारी दिनुभयो । दुषित पानीको प्रयोग गर्दा मूहान देखि धारासम्म पानी सुरक्षित गराउने, पानी उमालेर मात्रै पिउने, क्लोरिन वा फिल्टर गरेर मात्रै पानीलाई शुद्धिकरण गर्ने गरेमा मात्र यसको संक्रमणबाट जोगिन सकिने डा. थापाको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!