नगरप्रमुख जोशीको निर्देशनमा – सेवाअवधि सकिएका ११ कर्मचारीले सेवा प्रवाह गर्दै

Posted on: 21 Jul, 2017



पर्वत । पर्वत सदरमुकाम रहेको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको निर्देशनमा म्याद सकिएका कर्मचारीलाई काममा लगाएको पाईएको छ । नयाँ कर्मचारी थप गर्न तथा करारका कर्मचारीलाई म्याद थप गर्न नगर बोर्डको बैठकले पास गर्नुपर्नेमा एकलौटी ढंगले म्याद थप नगरि काममा लगाए पछि वडा अध्यक्षहरुले बिरोध जनाएका छन् ।
कुश्मा नगरपालिकामा कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्यूटर अपरेटर ३ जना, कार्यालय सहायक चौंथो २ जना, डाईभर २ जना र कार्यालय सहायक ३ जना गरि ११ जनाको गत असार मसान्तमा म्याद सकिएको हो । म्याद सकिएको एक हप्तासम्म पनि उनीहरु कार्यालयको हाँजिरी रजिष्टरमा हाँजिर गराई काममा लगाइएको कार्यालयका सूचना अधिकारी लाल प्रसाद शर्माले जानकारी दिए ।
करार सेवा अन्तर्गत १ वर्षे करारमा लिइएका कर्मचारीहरुको म्याद सकिएपछि हाँजिर गर्न नपाईने भएपनि कार्यालयको हाँजिरी रजिष्टरमा हाँजिर गरिरहेका छन् । हाँजिर कसले कसरि गराएको भन्नेमा कार्यालयका प्रमुख नै अनविज्ञ रहेका छन् । यसरी काममा लगाउनु नियम विपरित भएपनि नगरपालिकाका प्रमुखले आँफूखुशी काममा लगाई रहेको बताईएको छ । नगरपालिकाका कार्यकारी अधिकृत हिरामणी सुबेदीका अनुसार आँफूले काममा नलगाएको र यो विषयमा नगरप्रमुखसँग नै जानकारी लिन आग्रह गरे । मलाई यो विषयमा केही जानकारी छैन उनले भने यो विषयमा मेयर साव लाई नै सोध्नुस् । तर हालै स्थानिय निकाय निर्वाचनबाट मेयरमा निर्वाचित भएका रामचन्द्र जोशीले भने पटक पटक सम्पर्क गर्दा फोन नै उठाएनन् ।
तत्कालिन कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डीका पौडेलले नियम विपरित ति सबै कर्मचारी करारमा नियुक्ती गराएका थिए । तर नयाँ जन प्रतिनिधीले भने नयाँ प्रक्रिया अनुसार कार्यालयको आवश्यकताका आधारमा कर्मचारी थप गर्नुपर्ने अडान लिएका छन् । नगरपालिकाको कार्यकारी बोर्डमा एमालेको बहुमत रहेको छ भने काँग्रेसका मेयर र उप मेयर सहित अल्पमतमा रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!