मनाङ्गीहरुको महत्वपूर्ण पर्व यर्तुङको रौनक सकियो

Posted on: 31 Jul, 2017

साउन १६, मनाङ । मनाङमा यर्तुङ अर्थात् घोडा दौड आजबाट सकिएकोे छ । पाँच दिनसम्म चलेको यो पर्व गत बिहीबारबाट शुरु भएको थियो । यो पर्वको पहिलो दिन गाउँलेहरु एक ठाउँमा भेला भई गाउँ नजिकको पोचो गुम्बामा गहिथिमे बालेर यर्तुङ शुरु गरेका थिए । यसरी तीन दिनसम्म यो क्रम निरन्तर जारी रह्यो । 

यर्तुङको चौथो दिन यो पर्वका सबै भन्दा महत्वपुर्ण दिन हो । यस दिन यहाँका युवाले आफूलाई मन परेका युवतीलाई आफ्नो घोडामा राखेर गुम्बा घुमाउने गर्दछन् । 

गाउँका महिला भने घोडा चढेर आउनेलाई स्वागत गर्न गुम्बामा खादा र सगुन लिएर बस्ने प्रचलन रहेको छ । यसरी खादा र सगुन लिई सकेपछि गुम्बामा बत्ती बालेर युवायुवतीले नाचगान गरी मनोरञ्जन प्रदान गर्ने गर्दछन् । यो रातभरि नै गुम्बामा नाचगान चलिरहन्छ । यसरी गुम्बामा नाचगान गर्नाले मित्रता कायम गरी गाउँमा अनिष्ट हुनबाट बचाउने धार्मिक मान्यता रहिआएको छ । 

यर्तुङको अन्तिम दिन बिहानैदेखि गुम्बामा पूजापाठ शुरु हुन्छ । लगभग दिनैभरि पूजापाठ गरेपछि घोडा दौड प्रतियोगिता गरी सबैभन्दा छिटो दौडने घोडालाई वर्षको मूल्यवान् घोडा मान्ने चलन थियो । तर यो प्रचलन अहिले छैन । सबै घोडा दौडाउनेहरुलाई खादा लगाई नाचगान गरी यर्तुङको समापन गरियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!