एउटा यस्तो गाउँ, जहाँ एक महिनासम्म पनि आगो बाल्न पाइँदैन

Posted on: 24 Aug, 2017


भदौ ८, सोलुखुम्बु । साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ । 

त्यस गाउँका कसैले पनि साउन महिनामा आगो बाल्दैनन् । आगो बाल्न नपाउने भएपछि भएका चौरी तथा जोक्पेसमेत लिएर सोही गाउँपालिकाको नाम्चे, खुम्जुङलगायतका विभिन्न वस्तीमा पुगेका स्थानीय फर्किएसँगै चहलपहल र धुवाँ देखिन थालेको हो । 

साउन महिनाभर आगो नबाल्ने यस गाउँको परम्परागत संस्कार अनुसार यस वर्ष पनि गाउँमा कसैले आगो नबालेको स्थानीय व्यवसायी गेलु शेर्पाले बताउनुभयो । एक महिनापछि गएको शनिबार मात्र गाउँ फर्कनुभएका शेर्पाले अब भने स्थानीयको दैनिक कामकाज सुरु भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिलेदेखि नै यस्तै चलन छ, पुर्खादेखि मान्दै आएको चलन यस वर्ष पनि मानियो ।” 

खुम्बु पदमार्गको पर्यटकीय गाउँका रुपमा चिनिने दिङ्बुचेमा आगो बाल्दा खेती गरिएको आलु, उवा जस्ता अन्नलाई धुवाँले असर गर्छ भन्ने मान्यतासहित आगो बाल्न प्रतिबन्ध लगाइएको र सो चलन अहिले संस्कारकै रुपमा मानिदै आएको स्थानीय अगुवा बताउँछन् । 

आगो बाल्न नपाइने भएपछि साउन महिनाभर गाउँमा कोही पनि बस्दैनन् र भदौ लागेसँगै चहलपहल शुरु हुन्छ । पर्यटकीय क्षेत्र भएपनि साउन महिना पर्यटक नआउने महिना भएकाले यो चलनबाट आफूहरुलाई खासै समस्या नभएको स्थानीय बताउँछन् । 

कहिलेदेखी यो चलन शुरु भएको भन्ने यकिन नभएपनि पुर्खाहरु चौँरी गोठ लिएर आई मानव वस्ती बसाली खेती गर्न थालेसँगै यो चलन शुरु भएको हुनसक्ने स्थानीय अगुवाको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!