बारामा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

Posted on: 31 Aug, 2017

भदौ १५,कलैया। बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । 

हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना४च १७७७ नंको एम्बुलेन्सलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना३ख ९२८० नंको टिपरले बिहीबार निजगढ नजिक पर्ने उनासी पुलमा ठक्कर दिँदा सो दुर्घटना भएको हो । 

एम्बुलेन्समा सवार कोल्हवी नगरपालिका–२ की ६६ वर्षीया चन्द्रबन्दना मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । 

दुर्घटनामा कोल्हवी नगरपालिका–२ का ६७ वर्षीय वासुदेव मैनाली, ३० वर्षीया कमला मैनाली, सिर्जना मैनाली र एम्बुलेन्स चालक हेटौँडा–५ का उद्धव घिमिरे घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । 

दुर्घटनामा संलग्न टिपरका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रितेन्द्र सिंहले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!